स्वर्णिम वाग्लेः तनहुँबासीले पत्याएको गोर्खाली छोरो !


उपनिर्वाचनमा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । ३४ हजार ९१९ मत प्राप्त गरी विजयी भएका वाग्लेका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका वाग्ले कांग्रेस पृष्ठभूमिका हुन् । तर, उपनिर्वाचनमा वाग्लेलाई कांग्रेसले नपत्याए पनि रास्वपा नेता र तनहुँका जनताले पत्याए ।

रास्वपाबाट चुनाव जितेका वाग्ले त्यस्तो व्यक्ति हुन् धेरैलाई थाहा समेत नहुन सक्छ । वाग्लेले ‘लण्डन स्कुल अफ इकोनोमिक्स’को स्नातक र ‘हार्वर्ड विश्वविद्यालय’बाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तरको डिग्री गरेका छन् । एसएलसीको ‘बोर्ड सेकेन्ड’देखि अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी समेत गरेका छन् ।

निडर, इमान्दार, हक्की र मिलनसार स्वभावका वाग्ले विश्वका थुप्रै देशहरुले पत्याइएको व्यक्ति समेत हुन् । कुनै नेताले नपत्याएर के भयो त जनताले पत्याएपछि । वाग्लेको हकमा त्यहि सिद्धान्त लागू भएको छ । अब उनी सांसदको हैसियतमा संसद भवन छिर्नेछन् ।

कांग्रेसभित्र रहँदा उनै वाग्लेलाई टिकट नदिन न्वारानदेखिको बल लगाए र पार्टी छाडेपछि हराउन भएभरको सबै शक्ति प्रयोग गरेपनि जनताको तागतमाथि कसैको केही लागेन । उनलाई हराउन शीर्ष दलका नेताहरुले के सम्म गरेनन् भनेर भनिराख्न पर्दैन होला ।

तर, यहाँ केही कुरा राख्नै पर्ने हुन्छ । हेलिकोप्टर लिएर ३ जना पूर्व र बहालवाला प्रधानमन्त्री मन्त्रीको कुपन बाँड्न तनहुँ नै गए । उनलाई हराउन राज्यको सबै शक्तिको प्रयोग गर्दै किस्तिमा राखेर मन्त्रीको पद बाँड्दा पनि अन्ततोगत्वा के त भन्दा…तनहुँका जनताले गोरखालीलाई विजयी गराएरै छाडे । नेताहरुले वाग्ले कस्तो मान्छे भनेर चिन्न नसके पनि तनहुँका जनताले वाग्ले को हो भनेर चिनाइदिएका छन् ।

फराकिलो मतान्तरसहितको गर्विलो जित निकालेका वाग्ले अब तनहुँवासीको भरोसा र आशिवार्द हुन् । उज्यालो दिनको प्रतिक्षारत मनहरुको हुटहुटी बोकेका वाग्लेले पाएको मत केवल मत मात्र होइन अपेक्षा पनि हो । अब उनलाई जनअपेक्षाको उचित सम्बोधन हुनेगरी, सबैले गर्व गर्न सक्नेगरी काम गर्नुपर्ने चुनौती छ ।

कांग्रेस पृष्ठभुमिबाट रास्वपा आएका वाग्लेले कांग्रेसको जस्तै अवसरवादको बाटो हिँड्न नहुने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । त्यसैले पनि उनले सम्झनलायक काम गर्नु पर्ने नै हुन्छ । ठूलो पार्टीले गरेको अपेक्षा भन्दा अझै राम्रो भूमिका खेल्नुपर्ने बेला आएको छ ।

आगामी चुनावमा भोट माग्न नगइ जित्ने वातावरण बनाएर जनताको अभिमत र रास्वापाको विश्वासलाई ध्यानमा राखी राम्रो कामको थालनी गर्नुपर्ने जिम्मेवारीको भार थपिएको छ । जसकारण जनताले गरेका आशालाई निराशामा परिणत गर्न नहुने अधिकांश समर्थकहरुको बुझाइ छ ।

राज्यसत्ताले सम्पुर्ण शक्ति लगाउँदा पनि पराजित नभएका वाग्ले आशालाग्दो युवा हुन् । उनको जित एकल नभएर सम्पूर्ण तनहुँवासी जनताको समेत जित हो । उनको जितसँगै देशलाई आवश्यक एक असल र आसलाग्दो सांसदको कोटा पुरा भएको आभाष हुन्छ ।

सक्रिय राजनीतिको मैदानमा वाग्लेको यो पहिलो प्रवेश हो । पहिलो प्रयासमै उनले संसदीय चुनावमा सफल भएका छन् । पार्टी सुधारको एजेन्डा बोकेर गत प्रतिनिधिसभाको चुनावमा कांग्रेसभित्रै संघर्ष गर्ने भन्दै बसेका वाग्ले उपनिर्वाचनमा दल त्यागेर रास्वपामा प्रवेश गरेका थिए ।

कांग्रेस छोड्दा पनि स्वर्णिम ‘कुल’ नै बसे । तर, कांग्रेसीजनलाई औडाह भयो । तिनका प्रतिक्रिया सुन्दा–पढ्दा, स्वर्णिमले कांग्रेस छोडेर ठूलै अपराध गरेको भान हुन्थ्यो । तरपनि उनले कांग्रेसका कुनै नेताप्रति अभद्र टिप्पणी गरेनन्, आरोप लगाएनन् । यो नै उनको महान विचार हो ।

अर्थविद् समेत रहेका वाग्लेलाई अब रास्वपाको मुख्य खम्बाको रुपमा पनि हेरिएको छ । रास्वपाका सभापति रवि लामिछानेसमेत वाग्ले आफ्नो पार्टीमा आएर चुनावमा उठ्दा सबैभन्दा धेरै खुसी थिए र रहेका छन् । रास्वापाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने सभापति लामिछानेको भनाइ छ ।

जितपछि उनले बधाई दिँदै भनेका छन्, ‘उनले यात्राको नयाँतर अब सधैं सँगै रहने साथीलाई बधाई । प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएकोमा बधाई छ।’ अब उनीहरुबीचको सहकार्यले रास्वापालाई झनै बलियो बनाउनेमा रास्वपाका नेता÷कार्यकर्ताहरुले बताएका छन् ।

वाग्लेको जितले कसैका घमण्ड, अंहकार, रिस, ईष्या तोडिएका छन् । संसदमा अझै अब्बल भएर उपस्थिति हुनु संसदको अर्थ समिति सभापति हुँदै अर्थमन्त्री भएर देशको उच्च आर्थिवृद्धि हासिल गर्नु । हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

जनताको बिचमा रहन सिक्नुहोस् । तिनीहरुको पिर, मर्कालाई महसुस गरेर काम गर्नुहोस् जनताले तपाईलाई कहिल्यै निराश वनाउने छैनन् । नेपाली जनताको हृदय साह्रै कोमल छ ।नेपालको संसदीय राजनीतिको पछिल्लो दशकभित्र उठाइएको एक योग्य, सक्षम र इमान्दार व्यक्तिको मात्र नभएर नेपालीको जित भएको हो ।

(यो लेख लेखकको नीजि विचार हो ।)

प्रतिक्रिया