हत्या गरी फालेकाे अवस्थामा भेटियाे युवकको शव, एक जना पक्राउ


दुलेगौँडा – तनहुँ शुक्लागण्डकी–७, शान्तिनगरस्थित खैरेनीटार भिमाद सडकको नालीमा युवकको शव फेला परेको छ । दोभानको उकालो नजिकै एक्लेवरमा बिहान पौने ६ बजे बेवारिसे अवस्थामा स्थानीय ३८ वर्षीय सुरेन्द्र विकको शव फेला परेको प्रहरीले जनाएको छ ।

मकै गोड्ने मेला जाने क्रममा एक महिलाले नालामा बेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत समेतको अनुसन्धान टोलीले प्रारम्भिक रूपमा अनुसन्धान गर्दा विकको टाउकोमा कडा वस्तुले प्रहार गरेर हत्या गरी नालीमा फालेको देखिएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

घटनामा संलग्न भएको आशंकामा स्याङ्जा हरिनास गाउँपालिका-४ गृह्रकोट स्थायी घर भई शुक्लागण्डकी-७, शान्तिनगरमा डेरा गरी बस्ने वर्ष ५७ का देवबहादुर चन्दलाई पक्राउ गरी उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

स्थानीयका अनुसार विकसहितको ५ जनाको टोली राति रक्सी खाएर बसेका थिए । रक्सीले मातेपछि आपसमा विवाद हुँदा घटना भएको हुन सक्ने प्रहरीको आशंका छन् ।

प्रतिक्रिया