

आईजीलाई पेल्दै पूर्वआईजी !

काठमाडौं – १० चैतमा सरकारले बसन्त बहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गर्यो । निवर्तमान आईजी धिरज प्रताप सिंहले आफ्नो उत्तराधिकारीको रुपमा अगाडि ल्याएका अधिकृत हुन् कुँवर । त्यसैले कुँवर आईजी हुनुको श्रेय थोरै भएपनि सिंहलाई जान्छ ।
बढुवामा अगाडि ल्याएर कुँवरलाई आईजी बनाउन खोज्नु सिंहको चातुर्यता मात्र नभएर स्वार्थ पनि रहेको अहिले आएर खुलेको छ । उनै निवर्तमान आईजी सिंहले भित्रभित्रै दबाब दिएर प्रहरीको बढुवामा हस्तक्षेप गर्न खोजेका छन् । आईजी कुँवरलाई पेलेर जाने रणनीतिमा सिंह रहेको बुझिएको छ ।
प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा आफ्नो लबिइङ नपुगेपछि सिंहले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा हस्तक्षेप गर्न खोजेको स्रोत बताउँछ । ‘मैले तिमी (बसन्त) लाई आईजी बनाएको हो । त्यसैले मैले सिफारिस गरेको मान्छेहरु जसरी पनि एसएसपी हुनुपर्छ भन्दै दबाब दिएका छन्,’ स्रोतले भन्यो ।
एसएसपी बढुवामा १६ रिक्त पदको लागि दुई दर्जन प्रहरी उपरीक्षक (एसपी)हरु प्रतिस्पर्धामा छन् । जसमा सिंहले जसरी पनि मैले भनेको एसपीहरुलाई बढुवा गर्नुपर्ने भन्दै एसपीहरुको नाम लिस्ट समेत आईजी कुँवरलाई बुझाएको स्रोतले बतायो । जसले गर्दा हालका आईजी कुँवर सिंहको अगाडि कमजोर जस्तै बनेका छन् ।
त्यस्तै स्रोतका अनुसार पूर्वआईजी सिंहले आफूसँग राम्रो सम्बन्ध नभएका एसपीहरुलाई बढुवा नगर्न भन्दै पनि नाम लिस्ट बुझाएका छन् । यसरी संगठनलाई नै कमजोर बनाउने गरी हस्तक्षेप गरेका सिंहको अगाडि कुँवर झुक्लान् या कठोर होलान् ? त्यो हेर्न बाँकी छ ।
हुनपनि संगठनका अधिकांश एसपीहरु सिंहसँग रुष्ट छन् । कतिपय प्रहरी अधिकृतहरु सिंह संगठन प्रमुख हुँदा सँधै पेलानमा परे र रुष्ट बने । उनीहरुलाई बढुवामा जसरी पनि छुटाउन भन्दै सिंहले आईजी कुँवरलाई पेलेका छन् । जसकारण एसएसपी बढुवामा समस्या हुने देखिएको छ ।
सिंहले आफ्नो एकवर्षे आईजीको कार्यकालमा अब्बल प्रहरी अधिकृतको पहिचान बनाएका राम्रा राम्रा प्रहरीलाई छान्दै सधैं पछाडि पारे । बढुवामा मात्र नभएर सरुवामा समेत उनले धेरै प्रहरी कर्मचारीमाथि शोषण गरे । जसकारण उनको कार्यकालमा संगठनमा कुनै उपलब्धीमूलक काम हुन सकेन ।
त्यतिमात्र नभएर उनको कार्यकालमा प्रहरी संगठन अस्तव्यस्त बनेको आरोप छ । आफ्नो मान्छेहरुलाई आकषर्ण ठाउँमा सरुवा गर्नेदेखि कनिष्ठ प्रहरी अधिकृतलाई बढुवा गर्नेसम्मको काम उनको कार्यकालमा भयो । जसले गर्दा उनको आलोचना समेत भएको थियो । तर, उनीविरुद्ध कसैले बोल्ने आँट गरेनन् ।
संगठन प्रमुख हुँदा बिचौलियासँग मिलेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका सिंहले अहिले बिचौलियाहरुमार्फत नै बढुवामा हस्तक्षेप गर्न खोजेका हुन् । आफूले खेलाएको बिचौलियालाई हालका आईजीसँग समेत हिमचिम बढाउन सिंह लागिपरेका छन् । तर, आईजी कुँवरले बिचौलियाहरु कसैसँग पनि संगत नगर्ने बताएका छन् ।
त्यसैले वर्तमान आईजी कुँवरलाई पूर्वआईजी सिंह ठूलो समस्याको रुपमा देखा परेका छन् । सिंहले आफू रिटायर्ड भएपछि पनि संगठन चलाउन खोज्नेगरी कुँवरलाई उपयुक्त पात्र छानेर अगाडि ल्याएका थिए । त्यही भएर उनले कुनैपनि निर्णय गर्नुअघि आफूलाई सोध्न भन्दै दबाब समेत दिने गरेका छन् ।
तर, आईजी कुँवर उनकै बाटोमा हिँड्छन् या हिँड्दैनन् त्यो समयले बताउला । आईजी भएपछि पूर्वआईजीहरुको सबैको कुरा मान्नैपर्छ भनेर छैन । त्यसैले आईजी कुँवर सिंहको विवादित बाटोलाई समातेर होइन, नयाँ बाटोबाट अगाडि बढ्नुपर्ने अधिकांश प्रहरी अधिकृतहरुको गुनासो छ ।

