

प्रधानामन्त्रीलाई माधव नेपालको सुझाव – ‘ओली बा समूह’ खोल्नुस्

काठमाडाैं – नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ओली’बा’ समूह खोल्न सुझाएका छन् । नेपालले आफूहरुले ओलीलाई पार्टीबाट निष्कासन गरिसकेकाले ओलीको नेकपासँग कुनै सम्बन्ध नरहेको जिकिर पनि गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम केन्द्रीय परिषद् बैठकमा यस्ताे बताएका हुन् ।
उनले भने, ‘केपी ओलीलाई कुनै छ्लफल गर्न मन परेन। उहाँको प्रवृत्तिले हामी आजित भएका थियौं। हिजो पार्टी एक हुँदा पनि अर्का अध्यक्ष प्रचण्डलाई मान नगर्ने, द्वितीय अध्यक्ष भनेर बोल्ने काम भयो। अब हामीले पार्टीलाई विधि, पद्धतिमा अगाडि बढाएर लैजानुपर्ने भएको छ।’
अहिले केपी ओलीको प्रतिगमनविरुद्ध आफूहरु एकजुट भएर लागेको उनले सुनाए। नेपालले भने, ‘यो लडाइँ केपी ओली र हाम्रोबीचको होइन। यो आन्दोलन संविधान रक्षा, लोकतन्त्र बचाउन र अहिलेसम्मको उपलब्धिलाई जोगाउनका लागि सुरु गरिएको हो। आज जिल्ला जिल्लामा जागरण आएको छ।’
ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निकालिएको बताउँदै नेपालले भने, ‘अब उनले ओली बा समूह नामको पार्टी खोलेर बसे हुन्छ। सूर्य चिह्न र नेकपाको आधिकारिकता हाम्रो नै हुन्छ।’
आफूहरुले जनसरोकारका विषयमा धेरै कुरा उठाए पनि प्रधानमन्त्री ओलीले कहिल्यै नसुनेको गुनासो उनले गरे। ‘शिक्षकका मागका विषयमा पनि बेवास्ता हुँदै आयो। म प्रधानमन्त्री भएको बेला पनि मागहरु आएका थिए, तर कामचलाउ भइसकेको थिएँ,’ उनले भने।
सरकारी स्कुलको अवस्था धेरै बिग्रेको भन्दै उनले चिन्ता व्यक्त गरे। भने, ‘हामीले अब यी विषयमा सोच्नुपर्ने बेला आएको छ। शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ अगाडि बढ्नुपर्ने बेला आएको छ। अब तपाईंहरु पनि नयाँ हिसाबले अघि बढ्नुस्।’

