

सेनाले गरेको ‘कू’को विरोधमा हजारौँ मानिसहरू सडकमा

नेपिदअ – म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आज पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ ।
प्रदर्शनकारीले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनाशर्त रिहाई गर्न माग गरेका छन् । राजधानी नेपिदअमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरे पनि उनीहरूले प्रदर्शन जारी राखेका छन्। हालसम्म हिंसाका खबर भने नआएको जनाइएको छ ।
नेतृ सुकी र राष्ट्रपति मिन्ट सहित दर्जनौं नेता तथा कार्यकर्तालाई सेनाले नजरबन्दमा राखेको छ । आइतबार सेनाले इन्टरेनटमा करिब पूर्ण अवरोध गरेको थियो जसका कारण ट्विटर र इन्स्टाग्राम सहित फेसबुक बन्द भएका छन् ।

