

विद्युतीय सवारी परीक्षणका लागि उपकरण खरीद गरिँदै

काठमाडाैं – नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ ।
दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद अघि बढाइएको छ । ती उपकरणले सवारी साधनको चक्का चलाएपछि कति पावर छ, कति उकालो तान्न सक्छ, कति गतिमा कुद्न सक्छ भन्ने जानकारी दिने केन्द्रका प्रमुख रामचन्द्र पौडेलले बताए।
उनका अनुसार ती जानकारी कम्प्युटरमा गएर प्रिन्ट गरेर निकाल्न सकिन्छ । केही महिना पहिले ठेक्का सम्झौता भएकामा खरीद गरेर ल्याउने प्रक्रियामा रहेको उनले बताए । यस वर्ष चैत/वैशाखसम्ममा उपकरण ल्याउने योजना बनाइएको छ । उनले भने, ‘कोभिडको कारण आउन अलि समय लाग्ने भएकाले हामी पनि लचिलो बनेका छौँ ।’
चालू आवभित्र खरीद गरेपछि आगामी आवमा त्यसलाई सञ्चालन गर्ने लक्ष्य लिइएको छ । अहिले सरकारले जाँच पास र ‘रोड ओपनियन टेस्ट’ अनिवार्य गरिए पनि परीक्षण मान्छेले आँखाले हेरेर(म्यानुअल) नै हुँदै आएको छ । आगामी दिनमा उपकरणको प्रयोग गरी सवारी साधन सडकमा गुड्नका लागि उपयुक्त होइन भनी जाँच हुने बताइएको छ ।
मान्छेले हेरेर गरिने परीक्षण भरपर्दो नहुने भएकाले वैज्ञानिक रुपमा परीक्षण गर्न खोजिएको प्रमुख पौडेलले बताए । उनका अनुसार भन्सारबाट आएका विद्युतीय गाडी पहिले बाटोमा चलाउन मिल्ने भनी केन्द्रले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुनेगर्छन् ।
अहिलेसम्म ह्वाइट गुम्बालगायतका काठमाडौँ उपत्यकाका डाँडामा पुगेर कति उकालोसम्म जान सक्छ भनी जाँच हुने गरेको थियो । सवारी साधनको वास्तविक अवस्था थाहा पाउन र परीक्षणका क्रममा हुनसक्ने गल्ती कम गर्न उपकरण खरीद गर्न लागिएको उनले बताए ।
उपकरणले इञ्जिनको शक्ति, कति उकालो चढ्न सक्ने भन्ने जानकारी उपलब्ध गराउनेछ । विद्युतीय मात्रै नभएर भन्सारबाट भित्रिने विद्युतीय वा पेट्रोलियम दुवैबाट चल्ने सवारी साधनको ‘रोड ओपिनियन टेस्ट’ उपकरणमार्फत नै गर्ने सेन्टरको तयारी छ । उनले भने ‘हामीले विभागसँग सल्लाह गरेर खरीद प्रक्रिया अघि बढाएका छौँ ।’

