‘ढाका’ले नङ्ग्याएको रास्वपाको इज्जत !


‘ढाका’ भन्ने बित्तिकै नेपाली समाजमा बाक्लो, राम्रो कपडा भन्ने बुझिन्छ, जसले आम नेपालीको शीर उठाउने काम गर्दछ । पुरुषका लागि ढाकाको टोपी र महिलाको लागि ढाकाको चोली सबैभन्दा विशेष हुन्छ ।

हो, त्यही ‘ढाका’ नाम गरेको व्यक्तिका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको भने शीर निहुर्याएको छ । जन्मेको ६ महिनामै ‘असारको तामा’ झैं हर्लक्क बढेर मुलुक हाँक्ने स्थानमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तीनै ‘ढाकाहरु’का कारण बाँस झैं निहुरिन बाध्य भएको छ ।

नागरिकता विवादपछि सांसद पद गुमाएका रास्वपाका अध्यक्ष रवि लामिछानेको पुनः संसदमा पुग्नका लागि चुनावी मैदानमा उत्रँदै, तनहुँ र बारामा अर्को पार्टीबाट ‘मान्छे’ ल्याएरै भए पनि चुनाव जित्ने अभिलाषा राखिरहेकै बेला समानुपातिक सांसद ढाका कुमार श्रेष्ठको कर्तुतले शीर निहुरिएको छ ।

छानबिन र कारबाहीको हुँकार गर्दै अझै चुनाव प्रचारमै लागेका बेला ढाकाले बचाउ माग्दै गरेको फोनको समेत अडियो बाहिरिइसकेको छ । पार्टीमा २४ घन्टाभित्र आफ्नो स्वर नभएको भन्दै स्पष्टीकरण दिइसकेका ढाकाले बच्ने आशामा पुनः त्यही व्यक्तिसँग सम्पर्क गर्न खोज्नुले उनको अघिल्लो ‘काण्ड’ प्रमाणित भएको छ ।

सार्वजनिक भएको अडियो अनुसार उनले मन्त्री बन्नका लागि पार्टीका कोर टिमलाई बुझाउनुपर्ने भन्दै मागेको २ करोडका कारण अहिले चुनावी मैदानमा रहेका पार्टी अध्यक्ष रवि लामिछाने र रास्वपाको मंसिरको क्रेज देखेर मातृ पार्टी छाडेर टिकटका लागि हाम्फालेका दुई उम्मेदवारको दाँतमा ढुंगो लागेको छ ।

पार्टी अध्यक्ष रवि लामिछानेका लागि चुनावमा कडा प्रतिस्पर्धासँगै अर्को चुनौती पनि थपिएको छ । ढाकालाई कारबाही गरेको खण्डमा आफ्नो ‘कोर टिम’को भण्डाफोर हुने, नगरेको खण्डमा जनतासँग के भनेर भोट माग्ने । चुनाव प्रचारप्रसारकै शिलशिलामा बारा पुग्दै गर्दा रविले गढीमाईको कशम खाएर कारबाही गर्ने बाचा गरेका छन् । मन्दिरमा गएर खाएको कसम पूरा नगरेमा ‘पाप’ लाग्छ भन्ने नेपाली मान्यतालाई चितवनका जनताले १५ दिनभित्रै पुष्टी गर्ने हुन् कि भन्ने अर्को डर पनि छ ।

मंसिरको चुनावमा मुलुकमै सबैभन्दा बढी मतान्तरले जित हात पारेका रवि लामिछानेलाई यसपटक ‘ढाका काण्ड’ ले ठूलो असर पर्ने देखिन्छ । अघिल्लोपटक नेपाली कांग्रेसका उनी जस्तै बाहिरका भनिएका उमेश श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गरेका रविले यसपटक चितवनमै जन्मी हुर्केर जनतामाझ चीरपरिचित जीतनारायण श्रेष्ठको कठिन सामना गरिरहँदा आप्mनै सांसद ‘ढाका’को काण्डले संसद छिर्न नपाउने हुन् कि भन्ने देखिएको छ ।

त्यस्तै रास्वपाका तर्फबाट उम्मेदवार दिनकै लागि आफैंले स्थापना गरेको पार्टी छाडेर बारा पुगेका रमेश खरेल एक सफल प्रहरी अधिकृत हुन् । यदि उनी चुनावी मैदानमा नभएको भए उनले ‘ढाका काण्ड’मा आफ्नो जागिरे जीवनको अनुसन्धानको सिप प्रयोग गर्दै सत्यतथ्य पत्ता लगाउँथे होला । तर, आफ्नो जागिरेजीवनमा सबैभन्दा सफल भएको बाराबाट उम्मेदवारी दिएका खरेल अहिले अनुसन्धान भन्दा पनि भोट माग्नै व्यस्त छन् ।

त्यस्तै कांग्रेस छाडेर रविसँग काँध जोड्न पुगेका स्वर्णिम वाग्लेले ‘ढाका–काण्ड’ पनि ठूलो मूल्य चुकाउनु पर्ने अनुमान गर्न सकिन्छ । दिन दिनै ढाकाको अडियो सार्वजनिक भइरहँदा वाग्लेले आप्mनो प्रचार भन्दा पनि ढाकाको बचाउका लागि भाषण गर्दै बिताउनुपरेको छ । ढाकाको १० मिनेटको फोन स्वर्णिमका लागि घातक सिद्ध हुने देखिएको छ । सांसद पदका लागि अर्को ४ वर्ष कुर्न नसकेको स्वर्णिमसहितका तिनै जना उम्मेदवारका लागि ढाकाले गरेको ‘कुकर्म’ निर्वाचनमा पराजयको कारक बन्न नसक्ला भन्ने देखिँदैन । पछिल्ला दिनमा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको बढ्दो लोकप्रियता र आफ्नो पार्टीको काण्ड स्वर्णिमका लागि संसद छिर्ने बाटो बन्द नहोला भन्न पनि सकिँदैन ।

तनहुँका घर–घरमा परिचित भट्टराईसँग प्रतिस्पर्धा गरेर संसद छिर्छु भन्ने वाग्लेको चाहनामा ‘ढाका’ले थोरै भए पनि नुनचुक छर्कने काम गर्ने देखिएको छ ।

पार्टी अध्यक्ष रवि लामिछानेका लागि चुनावमा कडा प्रतिस्पर्धासँगै अर्को चुनौती पनि थपिएको छ । ढाकालाई कारबाही गरेको खण्डमा आफ्नो ‘कोर टिम’को भण्डाफोर हुने, नगरेको खण्डमा जनतासँग के भनेर भोट माग्ने । चुनाव प्रचारप्रसारकै शिलशिलामा बारा पुग्दै गर्दा रविले गढीमाईको कशम खाएर कारबाही गर्ने बाचा गरेका छन् । मन्दिरमा गएर खाएको कसम पूरा नगरेमा ‘पाप’ लाग्छ भन्ने नेपाली मान्यतालाई चितवनका जनताले १५ दिनभित्रै पुष्टी गर्ने हुन् कि भन्ने अर्को डर पनि छ ।

जे होस्, रास्वपाका लागि अत्यन्तै महत्वपूर्ण मानि ‘एकको बदला तीन’ भन्दै चुनावी मैदानमा उत्रिएको बेला यस किसिमको काण्ड आउनु पक्कै पनि राम्रो होइन । छानबिन, कारबाही र सजायको प्रक्रिया चलिरहँदा उता जनतासँग मत माग्न गएर जित हात पार्नु रास्वपाका उम्मेदवारहरुका लागि फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ ।

प्रतिक्रिया