

डिल्लीबजारको फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीको छापा, नक्कली छापसहित ४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले डिल्लीबजारस्थित फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ । कन्सल्टेन्सीको आवरणका ‘किर्ते’ काम भइरहेको सुराकको आधारमा छापा मारेर चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भएका उत्सव सुवेदी, चितवनको राप्ती नगरपलिका–३ घर भएका ३३ वर्षीय निराजन उप्रेती, २८ वर्षका निरज उप्रेती र दाङको तुलसीपुर घर भएका सन्दीप डाँगी छन् ।
कन्सल्टेन्सीबाट प्रहरीले विभिन्न सरकारी कार्यालयका ६ थान छाप, सरकारको छाप लगाएका कागजातहरु र कम्यूटर बरामद गरेको छ ।
बैंकले जारी गर्ने कागजात, मालपोत, भूमि व्यवस्था सहरकारी तथा गरिबी निवारण मन्त्रालयको छाप र त्रिवि शिक्षण अस्पतालको छाप पनि बरामद गरिएको एसएसपी कार्कीले जानकारी दिए । आरोपीहरुविरुद्ध प्रहरीले सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

