

अकुत सम्पति आर्जन गरेको आरोपमा प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गुप्ताको साथमा एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको र त्यो सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसूर गरेको पुष्टि हुन आएको अख्तियारले दावी गरेको छ ।
अख्तियारले एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको बिगो कायम गरी कानूनबमोजिम गुप्ता तथा उनकी श्रीमती उषा गुप्ताको नाममा हाल कायम सम्पत्तिवाट जफत गर्न पाउँ भन्ने माग दाबी गरेको छ । २०५१ सालामा सार्वजनिक सेवा प्रवेश गरेका गुप्ताले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन गरेको प्रवक्ता भोला दाहालले बताएका छन् ।

