

उत्तराखण्ड बाढीः सातजनाको शव फेला, १२५ जना अझै बेपत्ता

उत्तराखण्ड – भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारकार्य जारी रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको हो ।
अलकनन्दामा पनि पानीको सतह बढेको छ । हिमनदी फुटेर आएको बाढीमा परि ज्यान गुमाएका कम्तीमा सातजनाको शव निकालिएका स्थानीय अधिकारीले बताएका छन्।
अझै पनि पनि झण्डै १२५ जना बेपत्ता रहेको र खोजी भइरहेको स्थानीय अधिकारीले जनाकारी दिएका छन् । चमोली जिल्लाको हिमनदी फुटेर स्थानीय ऋषिगंगा जलविद्युत आयोजनाको बाँध बगाउँदा वरपरको बस्तीमा जोखिममा आएको छ ।
जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीका कारण बढि प्रभावित भएका हुन् । यस्तै तपोवन बाँधमा पनि ठूलो क्षति पुगेको र नजिकको सुरुङमा मानिसहरु फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको स्थानीय अधिकारीले बताएको सञ्चारमाध्यमले जनाएका छन्।
तपोवनको ९०० मिटर लामो सुरुङ्गमा उद्धारकार्य आइतबार रातभर पनि जारी रहेको उत्तराखण्डका प्रहरी प्रमुख अशोक कुमारले बताएका छन् ।राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गरेर सुरक्षाकर्मीहरुले रातभर उद्धारको काम जारी राखेको जानकारी दिएका छन् । उद्धारमा भारतीय सेना पनि सामेल छ ।
हिमनदी फुटेपछि उत्तराखण्डका सबै जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ । यस्तै गंगा नदीको किनारका बासिन्दाहरुलाई पनि सचेत पारिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थामा आफ्नो निगरानी रहेको र पूरा देशको साथ उत्तराखण्डलाई रहेको बताएका छन्। एजेन्सी

