

एसइईमा नक्कली परीक्षार्थी खटाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडाैं – पैसा लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
४० हजार रुपैयाँसम्म पैसा लिएर नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका हुन्।
एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ।
यसरी नक्कली परीक्षार्थी खडा गरेर उत्तीर्ण गराउने जिम्मा लिने कन्सल्टेन्सी सुनसरीमा धेरै पाइएको छ। टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बोहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ, लालीगुराँस कन्सेल्टेन्सीका सोनाम रिजाल रहेको बुझिएको छ।
उर्लाबारीको एमएन कन्सल्टेन्सी, गुडविल कन्सल्टेन्सी मङ्गलबारे, पर्फेक्ट कन्सल्टेन्सी पथरी, एनएआरटी कलेज पथरी रहेका छन्। नक्कली परीक्षार्थीहरूमा धेरैजसो धरानस्थित कन्सल्टेन्सीका रहेका छन्। खुल्लातर्फका विद्यार्थीले कन्सल्टेन्सीलाई एकमुष्ठ रकम बुझाएपछि पास गर्ने जिम्मा लिने गर्दछन्। त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराउने गरेका छन्।
मोरङमा मात्रै चैत २२ र २३ गते कुल २ सय १ नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

