

कालीमाया र रिनाको हत्या गर्ने दुई किशोरी पक्राउ

काठमाडौं – पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्मामा बिहीबार मृत फेला परेका दुई बालिकाको हत्या भएको खुलेको छ।
स्थानीय ७ वर्षीया कालीमाया बुढा र उनकी ८ वर्षीया दिदी रिना बुढाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई किशारीलाई पक्राउ गरेको छ ।
गत बुधबार सिस्नो टिप्न हिँडेका दिदीबहिनीको घरबाट २ किलोमिटर पर झुपा खोला भीरमा उनीहरूको शव भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमुख, डिएसपी अन्जना श्रेष्ठले बालिकाहरूको हत्यामा संलग्न २ जना किशोरी पक्राउ परेको जानकारी दिईन् ।
डिएसपी श्रेष्ठका अनुसार हत्या भएका २ बालिकाले एक तोला बराबरको सुनका गहना लगाएका थिए। त्यही गहनाकै लोभमा किशोरीहरूले बालिकाको हत्या गरेको हुन सक्ने उनले बताइन्।
‘१४/१५ वर्षका दुई साथीले दुई बालिकालाई जंगलमा एक्लै भेटेपछि कानमा लगाएको सुन खोस्ने योजनाका साथ घाँटी न्याकेर हत्या गरेर भीरबाट खसालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भैरहेको श्रेष्ठले बताईन् ।

