भ्रष्टाचार आरोपमा छेडागाड-१२ का वडा सचिव र प्रशासन सहायकविरुद्ध मुद्दा


जाजरकोट – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका–१२ का तत्कालीन वडा सचिव देवीलाल जैसी र प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले आज (सोमबार) उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो । सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको पाएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

वडा सचिव जैसी र कार्कीले आर्थिक वर्ष २०७५ ७६ मा प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नक्कली विवरण खडा गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् । उनीहरुले सामाजिक सुरक्षा भत्ताको २ लाख ७३ हजार ४ सय रकम अनियमितता गरेको अख्तियारले ठहर गरेको छ ।

प्रतिक्रिया