

पक्राउ परेका चिनियाँ नागरिकले गरे प्रहरी कार्यालयमै नाराबाजी

काठमाडौं – प्रहरीले आज (बुधबार) पत्रकार सम्मेलन गरेर चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै उनीहरुलाई सञ्चारकर्मीमाँझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध जनाएका छन् ।
पक्राउ परेका ९ चिनिया नागरिकले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी मात्रै गरेनन्, कार्यालय परिसरमा सुतिदिए । हत्कडीसहित बाहिर ल्याइएका उनीहरुले कार्यालय अगाडि सुतेर विरोध जनाएका थिए । तस्वीर खिच्न खोज्नेलाई समेत दुर्व्यवहार गर्न खोजेका थिए ।
कार्यालयका एक अधिकृतका अनुसार पक्राउ परेर हत्कडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार हो ।
ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी भएको भेटिएको उनले बताए ।
पीडितले एनआईसी एसिया बैंकमा राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ । थप अनुसन्धान जिल्ला प्रहरी परिसर, काठमाडौंबाट हुनेछ ।
काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराध गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार १९ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्ये ९ जना चिनियाँ नागरिक छन् । बाँकी नेपालीमा ५ महिला र ५ पुरुष रहेका छन् ।
र यो पनि…
अनलाइन माध्यम प्रयोग गरी ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ

