


साफ यू–१७ च्याम्पिनसिपः नेपाल र बंगलादेश बराबरी

काठमाडौं – साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसँग बराबरी खेलेको छ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।
पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन नसक्दा नेपालले बराबरी खेल्नु परेको हो । खेलको आठौं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७५ औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै नेपाल ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । बंगलादेशले ४ खेलमा ७ अंक जोड्यो ।
प्रतियोगिताको अन्तिम खेलमा मंगलबार नै रसिया र भारतबीच प्रतिस्पर्धा हुनेछ । रसिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

