

अदालतको फैसला कार्यान्वयनमा चितवन प्रहरीको ‘एक्सन’ !
४५ दिनमा ५३ जना पक्राउ

काठमाडौं – विभिन्न किसिमका अपराध गरेर फरार रहँदै आएका अभियुक्त तथा अदालतबाट सजाय पाएर फरार रहँदै आएका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय, चितवनले धमाधम पक्राउ गर्न थालेको छ ।
अदालतको फैसला कार्यान्वयनमा चितवन प्रहरीले गएको फागुन महिनामा मात्रै जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय फैसला सुनाइएका ३७ जना अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।
अदालतबाट जरिवाना तथा सजायको फैसला सुनाइएका तर फरार रहेका ती अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास भट्टले जानकारी दिए ।
२६ माघमा प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले चितवन प्रहरीको कमाण्ड सम्हालेपछि ५३ जना फरार अभियुक्त पक्राउ परेका छन् । एसपीसा’पको निर्देशनमा फरार अभियुक्त पक्राउ अभियान नै चलाइएको इन्स्पेक्टर भट्टले बताए ।
‘अभियान चलाइएपछि २६ माघदेखि १२ चैतसम्म ५३ जना पक्राउ परेका छन्,’ इन्स्पेक्टर भट्टले अनलाइनन्यूज७सँगको कुराकानीमा भने, ‘पक्राउ परेका अभियुक्त र प्रतिवादीसित २३ वर्ष १७ दिन कैद र २१ लाख ४१ हजार ४३३ रुपैयाँ जरिमाना असुल भएको छ ।’
वैदेशिक रोजगारमा ठगी, कर्तव्य ज्यान, मानव बेचबिखन, अपहरण, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, लागुऔषध, सवारी ज्यान, चोरी, भ्रष्टाचार, गाली बेइज्जतीलगायतका मुद्दामा दोषी करार भइसके पनि फरार बनिरहेकाहरुलाई पक्राउ गरिएको भट्टले बताए ।
फैसला कार्यान्वयन अदालतको जनआस्थासँग जोडिएको विषय हो । यसअघि पनि चितवन प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार अभियुक्त पक्राउ गर्दै आएको थियो ।
चितवन प्रहरीले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा २५३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुबाट ४३ वर्ष ४ महिना २६ दिन कैद र ९२ लाख ८६ हजार २३९ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो ।
अभियान नै चलाएर फरार रहेका अभियुक्त र प्रतिवादीलाई पक्राउ गरिएकाले फरार अभियुक्त र प्रतिवादी पक्राउ संख्या बढेको चितवन प्रहरी प्रमुख एसपी कार्कीले बताए । उनले भने, ‘फरार अभियुक्त र प्रतिवादी पक्राउ अभियान अहिले पनि जारी छ ।’
‘अपराध गरेर जति भागे पनि कानुनले छाड्दैन भन्ने सन्देश प्रवाह गर्न प्रहरी सक्रियता बढाइएको छ,’ एसपी कार्कीले भने, ‘अदालतले फैसला गरेर दोषी ठहर गरिसक्दा पनि फरार रहेकाहरुलाई पक्राउ गर्न विशेष टोली नै परिचालन गरिएको छ ।’
अदालतबाट भएका फैसला कार्यान्वयन गराउने सवालमा प्रतिवद्ध भएर चितवन प्रहरीले कारबाही अघि बढाइरहेको जानकारी उनले दिए । ‘त्यसैले अदालतको फैसला कार्यान्वयनमा चितवन प्रहरीले गरेको एक्सन हो यो,’ एसपी कार्कीले भने ।

