आईजी कुँवरको अग्नीपरीक्षाः
एसएसपी नै रहेका ब्याचमेटलाई डिआईजी बनाउलान् या एसएसपीमै घर पठाउलान् ?


काठमाडौं – प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेपछि जो कोही पनि संगठन प्रमुख भएर नेतृत्व हाँक्ने दौडमा हुन्छन् । सोहीअनुरुप ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका अर्थात १०८ का टोलीहरु पनि नेतृत्व हाँक्ने दौडमा थिए ।

तर, प्रहरीमा एकजना मात्र प्रमुख अर्थात प्रहरी महानिरीक्षक (आईजीपी) हुने व्यवस्था छ । एकजना प्रमुख हुने भएपछि सरकारले बरियतामा अगाडि रहेका र आफूअनुकुलको अधिकृतलाई रुचाउनेछ । सोहीक्रममा आईजीपी बन्न सरकारको नजरमा परे १०८ टोलीका बसन्त बहादुर कुँवर ।

गत १० चैतदेखि धिरज प्रताप सिंहले ३० वर्षे सेवाहदका कारण अवकाश पाउने भएपछि सरकारले ३० औं आईजीपी नियुक्त गर्नुपर्ने थियो । जसको लागि आकांक्षीहरु कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि आईजी भएर संगठनको नेतृत्व हाँक्ने दौडमा थिए ।

तर, कुँवरले आईजीपीमा बाजी मारे । उनले आईजीपीमा बाजी मारिरहँदा आफ्नै ब्याचमेटहरुलाई पनि सँगै लैजानुपर्ने बाध्यता छ । जबकी आईजीपी कुँवरका ब्याचमेटहरुभन्दा जुनियर ब्याचका साथीहरु प्रहरी नायब महानिरीक्षक (डिआईजी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भइसकेका छन् । जसले गर्दा उनीहरुमा निराश उत्पन्न भएको छ ।

यस्तो अवस्थामा कुँवरले आफ्नो ब्याचीहरुलाई बढुवा गरेर न्याय दिन्छन्/दिँदैनन् त्यो हेर्न बाँकी छ । कुँवरको ब्याची अर्थात १०८ टोलीका नौ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नै छन् ।

१०८ टोलीका जनक भट्टराई, भरत बहादुर बोहरा, कुवेर कडायत, केदार ढकाल, रविन्द्र केसी, अर्जुन चन्द ठकुरी, विकासराज खनाल, धुव्रराज राउत र भोला कुमार रावल एसएसपी छन् । उनीहरु नवनियुक्त आईजीपी कुँवरका ब्याचमेट हुन् ।

उनीहरु सबैको एउटै चाहना छ– डिआईजी बन्ने । तर, उनीहरुले तारावाला गाडी चढ्न पाउने हो वा होइन भन्न सकिने अवस्था छैन । शक्ति केन्द्रले रुचाएको अवस्थामा उनीहरुको करिअर निर्भर छ । तर पनि यसको लागि सरकारले डिआईजीको दरबन्दी थप गर्नुपर्दैन । हाल प्रहरी संगठनमा १३ डिआईजी पद रिक्त छ ।

त्यसैले रिक्त पदको लागि आईजीपी कुँवरका ब्याचमेटहरु डिआईजी बढुवाको दौडमा रहेका हुन् । उनीहरु ३ लटमा एसएसपी बढुवा भएका छन् । त्यसैले के उनीहरु सबैलाई बढुवामा समेटेर अगाडि बढ्न सक्लान् आईजीपी कुँवर ?

यसअघिको बढुवामा कोहीमात्रै कारबाहीमा परेर छुटे होला । तर, कुँवरका ब्याचमेट ९/९ जना एसएसपी नै रहनु चाहिँ यसअघिका नेतृत्वको व्यक्तिगत इगो र राजनीतिक पहुँच नपुगेपछि बढुवामा पछि परेका हुन् भन्नेमा दुईमत छैन ।

आईजी कुँवरले अडान नलिएको अवस्थामा उनीहरु एसएसपीबाटै अवकाशमा जाने निश्चित छ । किनकि यसअघि उनीहरुभन्दा जुनियर ब्याच अर्थात ११० टोलीका एसएसपी बढुवामा अघि छन् । त्यसैले कुँवरको लागि यो अग्नीपरीक्षा समेत हो ।

डिआईजी बढुवा नभएको अवस्थामा उनीहरुमध्ये अधिकांश प्रहरी संगठनको ३० वर्षे सेवाअवधी पूरा नगरी एसएसपीको ५५ वर्षे उमेरहद कारण अवकाशमा जाने सम्भावना छ । त्यसैले कुँवरले आफूहरुलाई न्याय दिनेमा ब्याचमेटहरु आश्वस्त छन् । तर त्यसको लागि केही समय कुनुपर्छ ।

यहाँ सबैलाई बढुवा गर्नपर्छ भनिएको होइन । कारबाही खाएकाको विवरण हेरेर र यसअघिका प्रहरी नेतृत्वको कोमामा परेका अधिकृतलाई न्याय दिन कुँवरले हात कमाउन नहुने प्रहरी अधिकृतहरु बताउँछन् ।

०००
त्यस्तै आईजी कुँवरका ब्याचमेटहरु सन्दीप भण्डारी, मीरा चौधरी, उमेशराज जोशी, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डिआईजी छन् । उनीहरु एआईजी बन्ने दौडमा छन् । हाल ४ एआईजी पद रिक्त छ ।

सिनियर ब्याचलाई प्राथमिकता दिनुपर्छ भनेर आईजीपी कुँवरले अडान लिएमा उनीहरुमध्ये चार जना एआईजी बन्ने सम्भावना छ । तर, शक्तिकेन्द्रको अगाडि कुँवरको केही पनि नचल्ने हो भने उनीहरुसमेत डिआईजीमै घर जानुपर्ने हुन सक्छ ।

प्रतिक्रिया