

ब्याजमेट एआजीले आईजी कुँवरलाई सघाउलान् या भोलिबाट आँफैं आईजी बन्न दौडेलान् ?

काठमाडौं – गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बसन्त बहादुर कुँवरलाई करिब ८० हजार फौज रहेको नेपाल प्रहरीको महानिरीक्षक (आईजी) नियुक्त गर्यो । प्रहरी संगठनमा बरियतालाई कायम राख्दै वर्तमान सरकारले कुँवरलाई आईजी नियुक्त गरेको हो ।
आईजीका प्रतिस्पर्धीमध्ये बरियतामा कुँवर नै एक नम्बरमा थिए । ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका कुँवरसँगै आईजीको प्रतिस्पर्धामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । ती मध्ये अधिकांशले आईजीका लागि प्रयास गरे पनि स्वभाविक रूपमा पहिलो नम्बरमा रहेका कुँवरले बाजी मारेका हुन् ।
नवनियुक्त आईजी कुँवरलाई आज गृहसचिव विनोदप्रकाश सिंहले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । नेपाल प्रहरीका आईजीलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहिआएको छ । उनले आइतबार नै प्रहरी प्रधान कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
हुनतः कुँवरले शनिबारदेखि आईजीको कमान्ड सम्हाले पनि बिदाको दिन भएकाले आइतबारदेखि मात्र उनले औपचारिक रुपमा प्रहरी कमान्ड सम्हालेका हुन् । प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् कुँवर । आईजी भएपछि उनै कुँवरलाई चुनौतीसँगै अवसर पनि छ ।
सर्वप्रथम त कुँवरले आफ्ना आईजीका प्रतिस्पर्धी (ब्याचमेट)हरुलाई सँगै मिलाएर लैजानुपर्ने चुनौती छ । विगतमा संगठनको नेतृत्व तहमा पुग्नुअघि प्रतिस्पर्धीसँग सुमधुर सम्बन्ध कायम भए पनि नेतृत्वमा पुगेपछि ‘पानी बाराबार’को अवस्थाबारे कुँवर जानकार छन् ।
विगतमा यस्तो भएको उदाहरणहरु प्रशस्त छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले मेरिट लिस्टमा एक नम्बरमा रहेका सर्वेन्द्र खनाललाई आईजी नियुक्त गर्दा उनका प्रतिस्पर्धी रमेश खरेलले राजीनामा दिए । खनालकै व्याचका पुष्कर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) बने । तर, कार्यकालभरी खनाल र कार्कीबिच राम्रो सम्बन्ध भएन ।
त्यस्तै डिआईजीद्वय जयबहादुर चन्द र नवराज सिलवाल एकआपसमा जुध्दा प्रकाश अर्याललाई आईजीपी बन्ने मौका जुरेको थियो । यस्तै उपेन्द्रकान्त अर्यालको कार्यकालभरी उहाँका प्रतिस्पर्धी राजेन्द्रसिंह भण्डारी प्रहरी प्रधान कार्यालयमा छिरेनन् । जसले गर्दा अन्य प्रहरी अधिकृतहरुमा काम गर्ने मनोबल घटेको थियो ।
त्यतिमात्र होइन, ०७७ असारमा शैलेश थापा क्षत्रीलाई सरकारले आईजी नियुक्त गर्दा प्रतिस्पर्धी हरि बहादुर पालले आफ्नो साथी आईजी भएको भन्दै मिलेर काम गर्ने प्रतिबद्धता जनाए । आईजी नियुक्त गर्नुअघि उनीहरु सार्वजनिक कार्यक्रममा जाँदा समेत एउटै गाडीमा जाने गर्थे ।
तर, क्षत्री आईजी नियुक्त भएको ४/५ महिनापछि उनीहरुबीच बोलचाल नै बन्द भयो । एकले अर्कोलाई सिध्याउने गरी पछि लागे । यसरी सुरुमा मिलेजस्तो गरेपनि अन्तिम अन्तिम समयमा आएर प्रतिस्पर्धीहरुसँगको सम्बन्ध सुमधुर हुन नसकेपछि तल्लो तहका प्रहरीको मनोबल घट्नेछ ।
त्यसैले कुँवरलाई प्रतिस्पर्धी साथीहरुलाई मिलाएर लैजानुपर्ने चुनौती देखिएको बहालवाला एकजना प्रहरी नायब महानिरीक्षक (डिआईजी) बताउँछन् । उनी भन्छन्, ‘यदी नवनियुक्त आईजी कुँवरले मिलाएर लैजान सके उनको कार्यशैली र कार्यक्षमता प्रष्ट हुन्छ ।’
सबैलाई मिलाएर लैजान सके उनीहरुको मित्रताले प्रहरी संगठनभित्र नयाँ सन्देश दिनेछ । प्रहरी प्रधान कार्यालयका कार्यरत ती डिआईजी भन्छन्, ‘नेतृत्वमा फुट नआएपछि हाम्रो मनोबल पनि अवश्य उच्च हुन्छ ।’ त्यसको लागि कुँवर चनाखो हुनपर्ने देखिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत सबैलाई समेटेर लैजान नवनियुक्त आईजी कुँवरलाई निर्देशन दिएको बालुवाटार स्रोतले बतायो । आईजी नियुक्त भएपछि कुँवर प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए । सो क्रममा प्रचण्डले बधाई दिनुको साथै प्रतिस्पर्धीहरुलाई मिलाएर लैजान निर्देशन दिएका थिए ।
ब्याचीहरु भन्छन्, ‘मिलेर काम गर्छौं’
नवनियुक्त आईजी कुँवरलाई उनका प्रतिस्पर्धीहरुले बधाई दिएका छन् । गृह मन्त्रालयमा आयोजित ‘दर्ज्यानी चिन्ह सुशोभन समारोह’पछि कुँवरलाई बधाई दिँदै आईजीका प्रतिस्पर्धी (ब्याचमेट) हरुले ‘संगठनका लागि मिलेर काम गर्न’ आग्रह गरेका छन् ।
यता, आफूसँगै प्रहरीमा भर्ना भएका साथीले आईजीको फुली लगाएपछि एआईजी श्यामलाल ज्ञवालीले भने– ‘साथी आईजी भएकोमा बधाई छ, कार्यकाल सफल रहोस, म साथमै छु ।’ राम्रो गर्नपर्छ भनेर आफूले जाने/बुझेको कुरामा सुझाव दिने समेत बताए ।
‘वास्तवमा बसन्त खराब र खुरापाती गर्ने मान्छे होइन,’ एआईजी ज्ञवालीले भने, ‘त्यसैले पनि कुँवरसँग काम गर्न सहज हुने अपेक्षा छ । उसको काम गर्ने तरिका राम्रो भएकाले सबैलाई मिलाएर लैजान सक्ने कुरामा म पनि विश्वस्त छु ।’ प्रहरी सेवामा सँगै प्रवेश गरेका ज्ञवाली र कुँवर आईजी बन्ने प्रतिस्पर्धामा थिए ।
आफ्नो मिल्ने साथी आईजी भएको भन्दै अर्का एआईजी दीपक थापाले भने, ‘साथी आईजीपी भएको छ, व्यवसायिक र मजबुद प्रहरी संगठन बनाउन म उहाँलाई पूर्ण सहयोग गर्छु ।’ कुँवरपछि पनि थापा आईजी बन्नेछन् ।
सबैलाई मिलाएर लैजान्छु : नवनियुक्त आईजीपी
नवनियुक्त आईजीपी कुँवरले आफ्नो आईजीका प्रतिस्पर्धी (ब्याचमेट) साथीहरुलाई समेटेर लैजाने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई ब्याचीहरुको सल्लाहअनुसार निरन्तरता दिनेछु ।’
एउटै मितिमा सेवामा प्रवेश गरेपछि सँगसँगै बढुवा हुँदै आईजीको प्रतिस्पर्धामा होमिनु स्वभाविक रहेको बताउँदै कुँवरले आफ्नो कार्यकालमा प्रहरीले दिने सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाए । अग्रजहरुको मार्ग–निर्देशन अक्षरंस पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने उनले बताए ।
आफ्नो कार्यकालमा माथिल्लो तहमा हुने बढुवा र तल्लो तहका जुनियर अधिकृतको सरुवा–वढुवा पारदर्शी ढंगले हुने दाबी गर्दै कुँवरले भने, ‘राईट म्यान, राईट प्लेस’ को अवधारणालाई अवलम्बन गरेर अगाडि बढ्नेछु ।’
बरियताअनुसार एक नम्बरमा रहेका कुँवरलाई प्रधानमन्त्री प्रचण्डले आईजी नियुक्त गरेपछि प्रहरी संगठनमा व्यवसायीकता बढ्ने प्रहरी अधिकृतहरु बताउँछन् । यो निर्णयले प्रहरी संगठनमा खुसीयाली छाएको उनीहरुको भनाइ छ ।

