
आईजी नियुक्ति गर्न आज मन्त्रीपरिषद् बस्ने, को बन्ला त नयाँ आईजी ?
काठमाडौं — आजदेखि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउँदैछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अनिवार्य अवकाशमा जाने भएसँगै आजदेखि नेपाल प्रहरीमा नयाँ नेतृत्व आउने भएको हो ।
नयाँ आईजी नियुक्तिका लागि आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । नियमित रुपमा बिहीबार बस्नुपर्ने बैठकलाई शुक्रबार दिउँसो ४ बजे का लागि सारिएको मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक निर्णय गर्नेछ ।
आईजी सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । उनलाई आजै बिदाइ गरिने कार्यक्रम तय भएको छ । सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।
बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएका ५ जना एआईजीहरु आईजीपीको दाबेदार हुन् । चैत ६ मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीको दाबेदार हुन् । तर, उनीहरूमध्ये पछिल्लो समय तीन जनाको बीचमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।
आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर, दीपक थापा र श्यामलाल ज्ञवाली अगाडि छन् । वसन्त कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । मेरिटमा अगाडि भएको हुनाले उनलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । त्यस्तै उनीभन्दा ६ महिनापछि इन्स्पेक्टरमा भर्ना भएका दीपक थापा पनि अहिले आईजीका लागि बलिया प्रतिस्पर्धी हुन् ।
कुँवरसँगै प्रहरी सेवामा आएका श्यामलाल ज्ञवाली मेरिट लिस्टको चौथो नम्बरमा छन् । तर, उनी जन्ममिति सम्बन्धी विवादमा परेकोले उनको सम्भावना भने कम रहेको देखिए पनि कतिपय माओवादी नेताहरुले उनलाई नै आईजी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिइरहेको स्रोतले दाबी गरेको छ ।
यद्यपि अन्य दुई एआईजीहरु टेकप्रसाद राई र किरण बज्राचार्यको पनि सम्भावनालाइ पनि नकार्न सकिँदैन । यदि बज्राचार्यले आईजीमा बाजी मारेको खण्डमा दक्षिणएशियाकै पहिलो महिला प्रहरी प्रमुख बन्नेछिन् ।



कागजपत्र |
