एआईजी ज्ञवालीको नागरिकता छानबिन गर्न गृहलाई अख्तियारको निर्देशन

आईजीको दौडबाट बाहिरिए ज्ञवाली !


काठमाडौं – नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

सरकारले सोमबार बढुवाको निर्णय गर्दै भोली (बुधबार)का लागि दर्ज्यानी चिन्ह प्रदान गर्ने तयारी गरेका एआईजी ज्ञवालीको नागरिकता छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको हो ।

उमेर ढाँटेर जागिर खाएको प्रमाणसहित उजुरीपछि अख्तियारले कारबाही प्रक्रियाका लागि चासो देखाएको हो ।

कैलालीका शेरबहादुर चन्दले ज्ञवालीविरुद्ध गत फागुनको दोस्रो साता अख्तियारमा उजुरी गरेका थिए ।

अख्तियारले प्रहरीका उच्च अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण मागेर अध्ययन गर्न केही शंकास्पद डीआईजीको शैक्षिक प्रमाण पत्र र नागरिकता विवरण मागेकोमा ज्ञवालीमाथि थप छानबिन आवश्यक परेपछि विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन सोमबार साँझ गृहमा निर्देशन आएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार गृहलाई प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ ।

ज्ञवालीले २५ वर्ष १० दिनमा इन्सपेक्टरमा भर्ना भएको अख्तियारको छानबिनमा देखिएको छ । तर, प्रहरी नियमावलीअनुसार इन्सपेक्टरमा भर्ना हुन २० वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्छ । २०५० मंसिरको विज्ञापनअनुसार इन्सपेक्टरमा भर्ना भएका ज्ञवालीको नागरिकताअनुसार १० दिन बढी नाघेको पाइएपछि गृहलाई छानबिन गर्न भनिएको हो । उनले सुरूमा प्यूठान जिल्ला प्रशासनबाट नागरिकता लिएको र पछि आएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रतिलिपि लिएको उजुरीमा भनिएको छ ।

चैत ११ गते वर्तमान आईजी धिरजप्रताप सिंहले अनिवार्य अवकाशमा जाने तयारी गरिरहेकै बेला आईजीका लागि लबिङ गरिरहेका ज्ञवालीको अख्तियारको यस निर्देशनसँगै दाँतमा ढुंगो लागेको छ । यस किसिमको निर्देशन पाएपछि उनी आईजीको दौडबाट बाहिरिएको नेपाल प्रहरीका पूर्वउच्चअधिकृतले बताएका छन् । उनी भन्छन्, ‘छानबिनको निर्देशन पाइसकेपछि पक्कै पनि सरकारले उनलाई आईजी बनाउँदैन, उनी आईजी नहुने पक्का भयो ।’

यदि उनी विवादमा रहेका कारण उनले यसअघिका डिआईजी अशोक सिंहले जस्तै राजीनामा दिने पनि चर्चा सुनिए पनि त्यसको थप पुष्टी भइसकेको छैन । सरकारले सम्भवतः बढुवा भएका एआईजीलाई भोली दर्ज्यानी चिन्ह प्रदान गर्छ, त्यसअघि उनी राजीनामा दिने मनसायमा भने नभएको जनाइन्छ ।

ज्ञवालीविरूद्ध अख्तियारमा परेको उजुरीः

 

प्रतिक्रिया