चिया क्षेत्रको समस्याः सरोकारवाला निकाय नै पोख्छन् गुनासो


इलाम – सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले एउटा सार्वजनिक कार्यक्रममा चियाका विषयमा धेरै गुनासो गरे । उनले चिया उत्पादकले बोरामा खुट्टाले खाँदेर बेच्ने गरेको बताए ।

यतिमात्र होइन, बोरामा खादेको चिया किन्न उद्योगमा फोन गर्ने र ‘उचित दाम दिए ल्याउँछु’ भन्ने गरेको सुनाए । देशकै बढी चिया उद्योग र चिया उत्पादन हुने नगर हो सूर्योदय । चियामा पनि अर्थोडक्स यस क्षेत्रमा बढी उत्पादन हुन्छ । यस क्षेत्रका किसान, उद्यमी र श्रमिकले गुनासो पोख्ने ठाउँ हो नगरपालिका तर नगरप्रमुख समेत यिनै विषयमाथि गुनासो पोखेका छन् । त्यसमा पनि सार्वजनिक कार्यक्रममा ।

नगरप्रमुखले यति मात्र भनेन् । उद्योग उद्योगबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा चिया क्षेत्र चल्नै सकस परेको राईले गुनासो गरे । उनले केही व्यक्तिले झापाको सिटिसी चियालाई इलामको चिया भन्दै सूर्योदय नगरपालिकास्थित कन्याममा बेच्ने गरेको समेत सुनाए । राई आफै नेतृत्वदायी पदमा छन् । आफँैले समस्या सुल्झाउनु पर्ने हो तर समाधान गर्नुको सट्टा गुनासो गरे । गुनोसो नगरप्रमुख राईको मात्र थिएन इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतको पनि थियो ।

इलाम नगरपालिका चियाको इतिहास बोकेको नगर हो । विसं १९२० मा इलाम नगरपालिकाको अहिलेको इलाम चिया बगानमा तत्कालीन गजराजसिंह थापाले चिया रोपण गरेको इतिहास छ । त्यसपछि मात्रै अन्य क्षेत्रमा चिया रोपण भएको थियो ।

इतिहास बोकेको र चिया क्षेत्रमा अगाडि रहेको नगरकै प्रमुखले चियाको बजारीकरणमा गहिरो गुनासो पोखे । उनले प्रविधि र प्रतिस्पर्धाका बीच नेपालको चिया विश्वबजार लानुपर्ने बाध्यता भएको बताए । उनले यथास्थितिबादी बजारकै कारण नेपाली चियाको बजारमाथि नउठेको गुनासो पोखे ।

प्रदेश नं १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाको पनि कार्यक्रममा गुनासै पोखे । उनले नेपाली चियाको बजार भारतीय बजार भएको बुझ्नाले कम मूल्यमा बेच्नु परेको बताए । उनले चियाको बजारीकरणका लागि तेस्रो मुलुक वा भारतकै नयाँ बजार खोज्न आग्रह गरे ।

प्रदेश नंं १ मा कृषि मन्त्री छैन । राज्यमन्त्री भएपनि रानाले मन्त्रीकै हैसियतमा समस्याको उत्तर दिनुपर्ने हो तर ठीक विपरीत उनले झन् समस्या ओकले । ‘केही वर्षअघि चियाको बजारका लागि झापाको विर्तामोडमा अक्सन खोलियो भवन बन्यो’ राज्यमन्त्री रानाले भने,’अहिले त भवन काम नदिने भयो होला । अक्सन मात्र होइन फर्निचर पनि काम नदिने भयो होला ।’ रानाले पूर्वी क्षेत्रमा उत्पादन हुने चिया प्रदेशको राजधानी विराटनगर नपुग्ने गरेको गुनासो गरे ।

जिल्लामात्र होइन प्रदेशकै अगुवाले नै यस्ता गुनासो गरेपछि चिया क्षेत्र कति पछाडि छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । उद्यमी, किसान र श्रमिकका त गुनासो र समस्या छन् तर अभिभावकत्व ग्रहण गर्ने व्यक्तिले नै समस्या बरबराएपछि कसरी होला समाधान रु यो प्रसङ्ग केही दिनअघि इलाम सदरमुकाममा आयोजित चियाको दिगो निर्यात अभिवृद्धि आयोजनाको हो ।

चियाको समस्या सुनाउन आएका किसानमध्ये अधिकांशले समस्या भन्नै पाएनन् । कतिले भनेपनि समस्या सुल्झिनेमा विश्वासै नगरी घर फर्किए । यी समस्या चियाका अल्पकालीन समस्या होइन, लामो समयदेखि चलेका र सधैँ चलिरहने समस्या हुन् । कुनै निकायको ध्यान नगएकाले चिया क्षेत्रमाथि उठ्न नसकेको हो । चियामा व्यवसायीको बजार, श्रमिकको ज्याला र किसानको हरियोपत्तीको मूल्यको समस्या मुख्य हुन् ।

अन्य समस्या पनि छन् तर यी समस्याले वर्षभर खाइदिन्छन् । सरकारले नदेखेको र निजी क्षेत्रकै कारण चिया क्षेत्र चलेको सरोकारवाला बताउँछन् । समस्या उद्यमी वा व्यवसायीकै कारण मात्र होइन । उद्यमी/उद्यमीबीच वा सरकारी र निजी चियाबगान बीचका टकराबले पनि पर्छ ।

आन्दोलन नगरी पाइँदैन ज्याला

चिया श्रमिकले ज्याला वृद्धिका लागि करिब तीन दशकदेखि आन्दोलन गर्दै आएका छन् । चिया खेतीको व्यावसायिक विस्तार २०५५/५६ सालदेखि मात्रै भएको पाइन्छ । श्रमिकले चिया बगानमा न्यूनतम् ज्याला रु एकदेखि काम गरेको इतिहास छ । त्यसबेला महिला र पुरुषको ज्याला फरकफरक थियो । श्रमिकका रूपमा बच्चालाई पनि प्रयोग गरिन्थ्यो । श्रमका लागि ९–१० वर्षका बालबालिका र ११–१८ वर्षमुनिका बालबालिका दुई भागमा विभाजन गरिएको थियो । बाल श्रमिकलाई पनि चिया बगानमा काम लगाउने चलन थियो ।

श्रमिकले २०४७ सालसम्म दैनिक रु १७ ज्यालामा चिया बगानमा काम गर्थे । विसं २०४६/४७ सालको जनआन्दोलनपछि चिया बगानका श्रमिकले पनि ज्याला वृद्धिको आवाज उठाउन थाले । उनीहरूले पहिलो पटक न्यूनतम ज्याला वृद्धिको माग राख्दै चिया मालिकसमक्ष माग पत्र बुझाएका थिए । माग पत्रपछि शतप्रतिशत वृद्धि भई उनीहरूको न्यूनतम ज्याला ३२ रुपैयाँ पुग्यो ।

श्रमिकले प्रत्येक दुई÷दुई वर्षमा ज्याला वृद्धिको मागगर्दै माग पत्र बुझाउन थाले । माग पत्र नबुझाएसम्म उद्यमीले उनीहरूको न्यूनतम ज्याला वृद्धि गरेनन् । श्रमिकको माग पत्र तथा आन्दोलनका कारण २०४९ सालमा न्यूनतम ज्याला दैनिक रु ४० तोकियो । यसरी नै श्रमिकको ज्याला ५४, ६०, ७२, ९५, १०२, १२७, १४५, १५५, १७२, २०२, २२७, २५३ हुँदै २७८ रुपैयाँ पुग्यो ।

गतवर्ष समेत श्रमिकले ज्यालाका लागि आन्दोलन गर्नुप¥यो । राजपत्रमा तोकिएको ज्याला नपाउँदा श्रमिक आन्दोलित भए । गएका तीन वर्ष यता श्रमिकले दुईवटा आन्दोलन चर्काउनु पर्‍यो । कामै छाडेर आन्दोलनमा लागेपछि मात्र श्रमिकको आवाज सुनिने गरेको छ । गएका असारपछि आन्दोलनबाट श्रमिकले श्रम ऐनअनुसार मासिक ज्याला रु छ हजार ४६९ र महँगी भत्ता चार हजार ३८१ रुपैयाँ पाएका छन् ।

किसानलाई हरियोपत्तीकै चिन्ता

जब चिया टिपाइ चैत पहिलो साता शुरु हुन्छ । अनि चिया आन्दोलन शुरु हुन्छ । उद्योगीले कमभन्दा कम मूल्य दिएपछि चिया किसान आन्दोलित बन्छन् । किसानले सधँै आन्दोलित बन्नुपर्छ । उद्योगी र किसानबीच सधैँ तनाब बन्छ ।

भारतीय बजारमा तयारी चियाको मूल्य नआएको भन्दै उद्योगी दाम दिन हिच्किचाउँछन् । अनि किसान मूल्य नपाएकोमा चिन्ता गर्छन् । ‘उद्योगीले पहिले राम्रै मूल्य दिने शर्तमा चिया लान्छन् तर पछि कम मूल्य दिन्छन् ।’

सूर्योदय नगरपालिकाका चिया किसान सोनाम काजी भन्छन्, ‘हामी किसान पनि सङ्गठित बन्न सक्दैनौँ । उद्योगीले किसान बाजाबाजको स्थिति ल्याइदिन्छन् ।’ किसान साङ्गठनिक हुन नसकेको फाइदा उद्योगीले उठाउँछन् । एक आपसमा फाटो उत्पन्न गराउने अनि कम मूल्यमा चिया लिने कारण किसान आन्दोलित हुन पुग्छन् ।

हरियोपत्तीको मूल्य राज्यले नतोकेकाले समस्या भएको हो । न्यूनतम् मूल्य तोकेमा केही समस्या समाधान हुन्छ तर यसबारे चासो गएकै छैन ।

बजारमा सकस

चिया क्षेत्रको गहिरो समस्यामा पर्छ, बजारको समस्या । नयाँ क्षेत्र/देशमा तयारी चिया पठाउन डराउने अनि बजार विस्तार भएन भनेर कराउने पराम्परा चिया क्षेत्रमा नौलो होइन । चियालाई स्थानीय देशभित्रै खपत गर्न पनि कोशिस गरिँदैन, अनि तेस्रो मुलुक पठाउन पनि प्रयत्न गरिँदैन । नेपालको ठूलो बजार भारत हो ।

सधैँ विभिन्न समस्याका बावजुत नेपाली चिया भारत पठाउनु पर्छ । नेपाली चियाको एकाधिकार भएकै कारण भारतले समस्या दिन्छ तर नेपालले बजारको विकल्प खोज्दैन र समस्या सुल्झ्याएर भारत नै चिया पठाउन कसरत गर्छ । ‘पछिल्लो समय हामीले तेस्रो मुलुक चिया पठाउन कोशिस गरिरहेका छौँ । सम्भवत केही समयमै पठाउन सक्छौँ होला’ बोर्डका कार्यकारी निर्देशक डा भट्टराईले भन्छन्,’चीनमा पनि सरकारमार्फत सरकार जीटुजी माध्यमबाट चिया लैजाने काम शुरु भएको छ । सम्भव भयो भने ठूलो हिस्सा चीन जान्छ ।’

किन सधैँ एउटै समस्या दोहोरिन्छ चियामा ?

सधैँ एउटै किचलो र विवादमा पर्छ चियामा । दिगो समाधान नखोज्दा पटकपटक समस्या आउने गरेको विज्ञ एवं सरोकारवाला बताउँछन् । कृषि विज्ञ डा. योगेन्द्रमान श्रेष्ठका अनुसार चियामा राज्यको प्रत्यक्ष संलग्नता नहुँदा किचलो हुन्छ ।

अन्तर्राष्ट्रिय प्रयोग नपाउने, वास्तविक पीडितको गुनासो नसुन्ने र वैकल्पिक मार्ग नरोज्नाले चिया क्षेत्र पछि परेको डा श्रेष्ठको भनाइ छ । हुन त सरकारले कानून कार्यान्वयनमा ल्याउन समेत सक्दैन । ऐनमा तोकिएकै ज्याला नदिएका उद्योगीलाई कारबाही गर्न नसक्दा श्रमिक आन्दोलित हुनुपर्छ ।

बजारमा पनि राज्यको पहल नपुगेको निजी उद्योगीको भनाइ छ । चिया उद्यमी मिलनकुमार खत्रीका अनुसार सरकारले उद्यमीलाई एकैकिसिमको व्यवहार नगर्दा समस्या आउने गरेको हो । ‘कसैलाई पाखा र कसैलाई काखा’ गर्दा वेलावेला आन्दोलित हुनुपरेको खत्रीको भनाइ छ ।

प्रतिक्रिया