विभिन्न क्षेत्रमा हिमपातः जनजीवन प्रभावित, बैतडीमा राजमार्ग अवरुद्ध


बैतडी – बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ । उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा बिहीबार राति हिमपात भएको हो । बैतडीको सिगास, ढोल्यामोड, खोड्पे, अनारखोली, दार्चुलाको व्यास, अपीहिमाल, बझाङको बित्थड, बाजुराको पोरखे लेकसहित उच्च पहाडी क्षेत्रलगायत सुदूरपहाडमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।

यो वर्ष पहिलोपटक हिमपात भएपछि किसान खुशी भएका छन् । वर्षा र हिमपात नहुँदा बालीनाली सुक्दै गएको थियो । लामो समयपछि हिमपात हुदा किसान खुशी भएका हुन ।

यसैबीच बाक्लो हिमपातका कारण राजमार्गसमेत अवरुद्ध भएका छन् । दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग अवरुद्ध भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् । दशरथचन्द राजमार्गको अनारखोली जयपृथ्वी राजमार्गको ढोल्यामोड क्षेत्रमा बाक्लो हिउँँ जमेकाले राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हिमपातले चिसो बढाएकाले जनजीवन पनि प्रभावित बनेको छ ।

प्रतिक्रिया