

बझाङमा हिमपात हुँदा विद्युत सेवा अवरुद्ध

बझाङ – मौसममा बद्ली भएसँगै बझाङका विभिन्न क्षेत्रमा हिमपात भएको छ । जिल्लाको बुङगल नगरपालिका, जयपृथ्वी नगरपालिकाको उच्च भूभाग, छविसपाथीभेरा, तल्कोट, साइपाल, मष्टा खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकालगायत क्षेत्रमा बिहीबार राति हिमपात भएको हो ।
माघको अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको हो । गए रातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण दैनिक जनजीवन प्रभावित भएको छ ।
हिमपातले बाहिर निस्कन मुस्किल भएको बुङ्गल नगरपालिका–३ का मानबहादुर धामीले बताउछन् । चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समस्या भएको स्थानीयले बताएका छन् । वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन् । सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका हुन् ।
हिमपातले विभिन्न रोगकिरा नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टेकबहादुर विष्टले बताएका छन् । हिमपातका कारण आंशिकरुपमा टेलिफोन, यातयात र विधुत सेवा प्रभावित भएको छ । बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थलीलगायत ठाउँमा बाक्लो हिमपात भएका कारण बझाङ भित्रने सावरी साधनलाई सकस भएको छ ।
बादलले सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिकरुपमा प्रभावित भएको छ । बिहीबार रातिदेखि बझाङमा विधुत सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले खोड्पे क्षेत्रको लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बझाङले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

