

सुरक्षाको महत्वलाई नेपालको संविधानले आत्मसात गरेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति महारथी प्रभुराम शर्माले शीतयुद्ध पश्चातको परिवर्तित विश्व व्यवस्था तथा तीव्र गतिमा बढी रहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाको क्षेत्रलाई व्यापक बनाउँदै लगेको बताएका छन्।
रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिममा प्रधान सेनापतिले दीगो आर्थिक समुन्नतिका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको बताए। उनले यस्तो वातावरणको सुनिश्चितता राज्यशक्तिका सम्पूर्ण संयन्त्रहरुको सहकार्यबाट मात्र सम्भव हुने बताए।
प्रधान सेनापति शर्माले राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्व तथा आवश्यकता यथावत नै रहेको बताए। उनले विविध चुनौतीहरुले नेपालको राष्ट्रिय सुरक्षामा पार्ने सम्भावित प्रभावको अनुमान गर्दै त्यसलाई सामना गर्न नेपालको संविधानले नै सुरक्षाको बृहत पक्षको महत्वलाई आत्मसात गरेको कुरा उल्लेख गरे।
शर्माले नेपालको राष्ट्रिय सुरक्षा नीतिले हाम्रो राष्ट्रिय हितहरुको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेदुंगाको कार्य गरेको स्पष्ट पारे। प्रधान सेनापतिले विश्वविद्यालय संचालनमा आउने बेलासम्म राष्ट्रिय सुरक्षा अवधारणा माथि प्राज्ञिक बहस, खोज र नीति निर्धारणमा सघाउ पुर्याउने जनशक्ति तयार गर्न तालिमले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
रक्षा सचिव श्री किरणराज शर्माले सुरक्षा खतराहरुको प्रकृति विश्वव्यापी रुपमा परिवर्तन भईरहेको हुँदा कुनैपनि राष्ट्र बहुआयामिक खतराबाट मुक्त नरहेको बताए। उनले नेपालले यस्ता चुनौतीहरु सामना गर्न सबै मन्त्रालयहरुको समग्र प्रयासबाट राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्ने क्षमता बढाउनु पर्ने उल्लेख गरे।

