

चाैकीको पर्खाल भत्काएर फरार थुनुवामध्ये थप एकजना पक्राउ

जनकपुरधाम – धनुषा प्रहरीले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हातहतियार तथा खरखजाना मुद्दाका ३६ वर्षीय शंकर सिंह महतो हुन्।
गत माघ १६ गते ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ जना थुनुवामध्ये ५ जना पक्राउ परिसकेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले हालसम्म ५ जना थुनुवा पक्राउ परेको जानकारी दिए।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले पर्साको वीरगञ्ज महानगरपालिका १६ ईनर्वा स्थित भन्सार हुँदै भारतर्फ भाग्ने क्रममा महतोलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

