
थप १५ दिनका लागि पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड बन्द
तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो ।
उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएकामा फेरी २८ गतेदेखि चैत १२ गतेसम्मका लागि सोही समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।
यस खण्डमा काम जारी रहेकाले थप १५ दिन दैनिक चार घण्टा बाटो बन्द गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको उनले बताए ।यस खण्डमा बाटो बन्द गरेर नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत् पोल स्थानान्तरण नहुँदा काम सुस्त भएको समितिले जनाएको छ।



कागजपत्र |
