हात्तीपाइले विरुद्धको औषधि थप ५ दिन खुवाइने


काठमाडाैं – सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । बिहीवारसम्म खुवाइने भने तापनि थप ५ दिनका लागि अभियान सञ्चालन गरिने भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने जानकारी दिए । यसअघि फागुन ११ गतेदेखि शुरू भएको अभियान बिहीवार फागुन २५ गतेसम्मका लागि मात्र तोकिएको थियो ।

उनले अभियानका क्रममा धेरै बिदा भएकाले कोही नछुटुन् भनेर शुक्रवारदेखि पुनः ५ दिन अभियानलाई निरन्तरता दिने बताए । हात्तीपाइले रोग विरुद्धको औषधि १५ जिल्लामा फागुन ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा खुवाउन थालिएको छ ।

औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइएको छ । औषधि २ वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तीपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ । हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तीपाइले रोग लागेका खुट्टा सुनिने, पुरुषमा अण्डकोष सुनिने तथा महिलामा स्तन सुनिने गर्दछ ।

महाशाखाले ४ जिल्ला बारा, लमजुङ, पर्वत र बागलुङमा २ प्रकारको औषधि र ११ जिल्लामा झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, रसुवा, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा ३ प्रकारको औषधि खुवाएको छ । २ प्रकारको औषधिमा अल्वेण्डाजोल र डाइइथाइल कार्बावाजिन तथा ३ प्रकारको औषधिमा अल्वेण्डाजोल, डाइइथाइल कार्बावाजिन र आइभरमेक्टिन खुवाइन्छ ।

महाशाखाका महानिर्देशक डा. दासले ४ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको संक्रमण नदेखिएकाले २ प्रकारको औषधि र ११ जिल्लामा समुदायस्तरमा संक्रमण देखिएकाले ३ प्रकारको औषधि खुवाउनुपरेको बताए । उनका अनुसार अहिलेसम्म ७९ प्रतिशत औषधि खुवाइएको छ ।

नेपालमा ४४ जिल्लामा गरिएको हात्तिपाइले रोगको रुग्णता मापन अध्ययनले ३१ हजार २९ जनालाई संक्रमण देखिएको छ । अन्य जिल्लाको अध्ययन भइरहेको छ । शरीरमा हात्तीपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तीपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन । सरकारले औषधि निःशुल्क उपलब्ध गराउने गर्दछ । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया