


राष्ट्रपतिमा एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौं – नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। संघीय संसद भवन बानेश्वर पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मतदान गरेका छन्।
बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरिसकेका छन्। मतदानका लागि संघ र प्रदेशका सांसदहरू छुट्टाछुट्टै लाइनमा लामबद्ध भएका छन्।
राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन्।
निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ। ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। राष्ट्रपतिको चुनावको कुल मतभार ५२ हजार ६२८ तय भएको छ।
पहिलो चरणको चुनावबाट विजय बन्नका लागि प्राप्त गर्ने बहुमत २६ हजार ३१५ चाहिन्छ।

