
आसिफको शतकसँगै नेपालले दियो पीएनजीलाई २९८ रनको लक्ष्य
काठमाडौं – ओपनर आसिफ शेखको शतक प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ बल बाँकी रहँदा अलआउट हुँदै २ सय ९७ रनको योगफल तयार पार्यो । जुन नेपालले एक दिवसीय क्रिकेटमा हालसम्म बनाएको सबैभन्दा ठूलो योगफल हो ।
यसअघि, अघिल्लो महिना त्रिवि मैदानमै नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य चेज गर्ने क्रममा नेपालले २ सय ८७ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले ।
उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग १ सय १० रनको साझेदारी गर्दै १ सय १० बलमा १२ चौका र २ छक्का प्रहार गरे ।
आसिफले पाँचौं विकेटका लागि कप्तान रोहित पौडेलसँग शतकीय साझेदारी गरेका थिए ।
नेपालका लागि भिम सार्कीले ४४ रनको पारी खेले भने भुर्तेलले ४५ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३० रन बनाउँदा आरिफ शेखले १५ रन बनाए ।
जारी खेलमा शतक बनाएसँगै आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने र हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने ।
पीएनजीका लागि सेमो कामेयाले ५ विकेट लिए भने रिले हेकुरेले ३ विकेट लिए । अब नेपालले केही बेरमा बलिङ सुरू गर्नेछ ।



कागजपत्र |
