राष्ट्रपति निर्वाचन अपडेट: साढे १२ सम्म ६ सय ३ सांसदले हाले भाेट


काठमाडौं – नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। संघीय संसद भवन बानेश्वर बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।

राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन्। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ :३५ सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ। मतदानका लागि संघ र प्रदेशका सांसदहरू छुट्टाछुट्टै लाइनमा लामबद्ध छन्।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन्।

निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ। ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। राष्ट्रपतिको चुनावको कुल मतभार ५२ हजार ६२८ तय भएको छ।

पहिलो चरणको चुनावबाट विजय बन्नका लागि प्राप्त गर्ने बहुमत २६ हजार ३१५ चाहिन्छ।

 

प्रतिक्रिया