

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारीलाई ६ महिना कैद

काठमाडौं – वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी दोषी ठहर भएका छन्। वैदेशिक रोजगार न्यायाधिकरणले ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ। औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालक भण्डारीलाई न्यायाधिकरणले वैदेशिक रोजगार कसूरमा दोषी ठहर गरेको हो।
भण्डारीले दुबइस्थित रोजगारदाता कम्पनी ‘टिम फर्निचर’ मा ११ जना कामदार पठाउन नक्कली कागजात पेश गरेको न्यायाधिकरणको अनुसन्धानमा देखिएको छ। भण्डारीले वैदेशिक रोजगार विभागबाट स्वीकृति प्राप्त गर्दा नक्कली कागजात पेश गरेको कसुर न्यायाधिकरणले जनाएको छ। न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्य निशा बानियाँ र गोपीचन्द्र भट्टराईको इजलासले दोषी ठहर गरेको हो।
उक्त मुद्दामा प्रेस सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाइएको छ। उनले कागजात खडा गर्नका संलग्नता भएको ठहर गर्दै दोषी किटान गरेको हो।
२०७१ असार २१ मा नेपाल निक प्रेसमा छापा मारि कागजात बरामद गरिएको थियो। भण्डारीलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा (४७) १ को प्रावधान अनुसार सजाय सुनाइएको हो।

