गठबन्धन बैठक : संविधान र गणतन्त्रको रक्षाका लागि एकजुट हुने निर्णय


काठमाडौं – सत्ता साझेदार दलको नयाँ गठबन्धनले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ। आइतबार बालुवाटारमा बसेको बैठकले संक्रमणकालीन न्यायको विषय संवेदनशील भएकाले चाँडै टुङ्गोमा पुर्‍याउनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म तथा भावना विपरित काम भएको भन्दै त्यसविरुद्ध एक जुट हुने निर्णय गरेको हो। बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनमा साझेदार ९ दलले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट हुने निर्णय गरेको जानकारी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको सार्थक कार्यान्वयनको क्रममा मूलुक तेस्रो राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा छ। संविधानको रक्षा गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिसम्म पुग्ने विषयमा हामी स्पष्ट र एकताबद्ध छौं।’

संक्रमणकालिन न्यायका विषयमा उठेको बहसले पनि गठबन्धनको ध्यानाकर्षण भएको ९ दलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया