

आफ्नै बाबुले गरे दुई वर्षीया छोरीको हत्या

बागलुङ – बागलुङको जैमिनी नगरपालिका-४ सर्कुवामा आफ्नै बाबुले दुई वर्षीया नाबालिका छोरीको हत्या गरेका छन्।
बागलुङ नगरपालिका-१२ अमलाचौर घरभई हाल सर्कुवा मौलाछ बस्ने २७ वर्षीय सयरदिन मियाले बुधबार साँझ आफ्नी १८ महिनाकी छोरी अर्सा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए।
घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका थिए। टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमै मृत्यु भएको प्रनाउ थापाले जानकारी दिए।
हत्यामा संलग्न भएको आरोपमा सायर दिनलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको छ। छोरीको हत्यापछि घर छाडेर भागेका मियालाई प्रहरीले गाउँमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो।
मियालाई बिहीबार जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए। सायरले के कारणले छोरीको हत्या गरे भन्ने विषय नखुलेको प्रनिउ थापाले बताए। बालिकाको शव धौलागिरी अस्पताल बागलुङमा बिहीबार पोष्टमार्टम गरिएको छ।

