विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह


कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थालेका छन् । मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

विश्वासको मतका लागि उनले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् । मुख्यमन्त्री शाह केही दिनअघि काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी फर्केका छन् । ‘विश्वासको मत लिनका लागि सभामुखसँग मुख्यमन्त्री शाहले आवश्यक परामर्श गरिरहनु भएको छ । प्रदेशसभामा एमाले बाहेकका दलसँगको छलफललाई समेत तीव्रता दिनुभएको छ,’ मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले भने ।

संविधानको धारा १६८ (३) बमोजिम गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ । प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता शाह एकीकृत समाजवादीका गरी २३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र गरी एक एक सदस्य छन् । पछिल्लो पटक केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्री शाह प्रदेशसभामा विश्वासको मत पाउनेमा ढुक्क रहेका उनका स्वकीय सचिव शाहीको दाबी छ ।

गत मंसिर ४ गते सम्पन्न चुनावलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तोकिएको समयभित्र प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि उनले पदबाट राजीनामा दिए । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा एमालेका रावल मुख्यमन्त्री नियुक्त भएका थिए। नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त भएका थिए।

प्रतिक्रिया