

प्रधानमन्त्रीको सचिवालय टिमः राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिकता !

काठमाडौं – भनिन्छ, प्रधानमन्त्रीको सचिवालय टिम चुस्त, दुरुस्त र मजबुत रहेमा जस्तोसुकै कठिनाई समस्यालाई सहजै समाधान गर्न सकिन्छ । प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस संयोजक र परराष्ट्र सल्लाहकार, प्रमुख राजनीतिक सल्लाहकार र विभिन्न विधाका विज्ञहरु सचिवालय टिममा रहने गर्छन् ।
जसले गर्दा प्रधानमन्त्रीलाई काम गर्न समेत सहज हुनेछ । त्यसैले प्रधानमन्त्रीको सचिवालय टिम राम्रो हुनुपर्छ भनिन्छ । प्रधानमन्त्री नियुक्त भएपछि जो कोहीले पनि पहिला आफ्नो सचिवालय टिम बनाउने गर्छन् । कोहीले आफ्ना नातेदारलाई राख्छन् भने कसैले राम्रो व्यक्ति खोज्छन् ।
सरकार सञ्चालनका लागि प्रधानमन्त्रीको लागि सचिवालय टिम महत्वपूर्ण हो । कुनै महत्वपूर्ण निर्णय लिनुपूर्व प्रधानमन्त्रीले सचिवालय टिमका सदस्यसँग छलफल गर्ने गर्छन् । त्यसैले सरकारले गर्ने काममा प्रधानमन्त्रीको सचिवालयको ठूलो भूमिका रहने भएकाले यसले विशेष अर्थ राख्छ ।
प्रधानमन्त्रीसँग मन्त्री, पदाधिकारी, कूटनीतिज्ञ तथा विभिन्न व्यक्तिको सम्पर्क तथा भेटघाटको प्रबन्ध मिलाउने र सोको अभिलेख व्यवस्थापन गर्ने जस्ता काम सचिवालय टिमले मिलाउने गर्छन् । त्यस्तै सूचना आदानप्रदान समेत सचिवालय टिमले गर्नेछ ।
तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डको काँधमा अहिले पार्टी र सरकार सञ्चालन दुवै जिम्मेवारी छ । उनले सरकार सञ्चालनको लागि आफ्नो सचिवालयलाई चुस्त, दुरुस्त र मजबुत बनाएर काम गर्नेमा धेरैको विश्वास थियो । आफू सफल हुन प्रचण्डले विभिन्न क्षेत्रका व्यक्तिलाई नियुक्त गर्ने अपेक्षा गरिएको थियो ।
जस्तो पर्यटन बुझेका व्यक्तिलाई पर्यटन विज्ञ, अर्थ बुझेका व्यक्तिलाई अर्थ विज्ञ, आईटी बुझेकालाई आईटी विज्ञ, इन्जिनियर विज्ञ, प्रेस हेर्नेगरी एक जनालाई प्रेस विज्ञको रुपमा नियुक्त गरेर आफ्नो सचिवालय टिम चुस्त, दुरुस्त र मजबुत बनाउलान् भन्ने धेरैले सोचेका थिए ।
तर, प्रचण्डले अहिलेसम्मकै आलोकाँचो सचिवालय टिम निर्माण गरेको आरोप छ । राजनीतिमा खारिएका कुनैपनि व्यक्तिलाई आफ्नो सचिवालयमा प्रधानमन्त्री प्रचण्डले अटाउन सकेका छैनन् । अल्लारे टिमलाई लिएका कारण प्रचण्डको २ महिने कार्यकालमा शून्य उपलब्धी हासिल गरेको बताइएको छ ।
विगतमा जे जस्तो भएपनि यसपटक बनाइने सचिवालयलाई प्रभावकारी बनाउने प्रयास गर्नुको सट्टा उनले जागिर खाने भर्तीकेन्द्र जस्तो बनाएको आफ्नै नेता कार्यकर्ताहरुको आरोप छ । हालसम्म प्रचण्डले सचिवालयमा ८ जनालाई नियुक्त दिएका छन् ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै नियुक्त भएका छन् । माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेका उनी तत्कालीन माओवादी सेनाको डिभिजन कमान्डर समेत हुन् । दरैको हकमा प्रचण्डले राम्रै व्यक्ति नियुक्त गरेको अधिकांशको भनाइ छ ।
त्यस्तै प्रधामन्त्री प्रचण्डले २ जनालाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । प्रधानमन्त्रीको स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका हुन् । प्रधानमन्त्रीको प्रमुख स्वकिय सचिवले राज्यमन्त्री सरह र सचिवले सहायकमन्त्री सरहको सुविधा पाउँछन् ।
गंगा र रमेश यसअघि पनि खुमलटारमा प्रचण्डको स्वकीय सचिवका रुपमा कार्यरत थिए । उनीहरु दुवैजना माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत छन् । गंगा प्रचण्डकी कान्छी छोरी हुन् । आफ्नै छोरीलाई स्वकीय सचिवमा नियुक्त गरेपछि उनको आलोचना भएको छ ।
त्यस्तै स्वकीय सहसचिवका रुपमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेलले नियुक्ति पाएका छन् । शर्माले प्रेस संयोजकको जिम्मेवारी पाएका छन् । उनी यसअघि पनि प्रचण्डको प्रेस संयोजक थिए ।
तिमिल्सिना भने प्रेस विज्ञको रुपमा नियुक्त भएका छन् । उनले यसअघि केही समय प्रचण्डको सचिवालयमा काम गरेका थिए । उनीहरु तीनैजनाले प्रधानमन्त्रीको प्रेस हेर्दै आइरहेका छन् । जबकी एकजना मात्र भएपनि पुग्नेमा प्रचण्डले ३/३ जनालाई जागिर खाने भर्तीकेन्द्रमा जस्तो गरी नियुक्त गरेका हुन् ।
उनीहरुले नेपाल सरकारका सहसचिव सरह सेवासुविधा पाउनेछन् । यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुङ्गाना नियुक्त भएका छन् भने फोटोमा प्रदिपराज वन्तलाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयले पूर्णता पाउन अझै बाँकी छ । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत पदमा नियुक्ति गर्न बाँकी छ । यता, प्रचण्डले सचिवालय टिम चुस्त, दुरुस्त बनाउने दाबी गरेका छन् ।
विगतमा प्रचण्ड सल्लाहकारकै कारण विवादमा तानिएका थिए । आफ्नो नातेदारलाई प्राथमिकता दिएको आरोप लागेका उनले योपटक पुराना र आफ्नालाई भन्दा फरक व्यक्तिलाई सचिवालयमा ल्याउने अपेक्षा गरिएको थियो, माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने ।
प्रचण्डका सचिवालय टिमका सदस्यहरुले जनतालाई समान रुपमा व्यवहार गर्न नसकेको भन्दै पार्टीभित्रै चर्को आलोचना हुन थालिसकेको ती सदस्यले बताए । कुनै व्यक्ति प्रधानमन्त्रीलाई भेट्न जाँदा उनीहरुले रोक्ने गरेको अरोप छ ।
कुनै राम्रो काम लिएर प्रधानमन्त्रीकहाँ जाँदा बीचबाटोमै राखेर उनीहरुले फर्काइदिने गरेका छन्, ती केन्द्रीय सदस्यले भने, प्रधानमन्त्रीले प्रेस हेर्नेगरी नियुक्त भएका उनीहरुको काम रोक्ने होइन नि, प्रधानमन्त्रीको राम्रो कामको समाचार बनाएर सम्प्रेषण गर्ने हो ।
उनीहरु तीनैजनाले मिलेर एउटा अनलाइन समेत चलाएका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारबाट उनीहरुले अनलाइन न्यूज पोर्टलसमेत चलाउँदै आएको बताइएको छ ।
त्यस्तै आफ्नै छोरी गंगा दाहालले व्यक्तिगत लाभका कामहरु गरेको भन्दै चर्को आलोचना हुने गरेको छ । पछिल्लो समय गंगा प्रहरीको सरुवा बढुवामा हावी हुने गरेको आरोप छ । जसकारण प्रहरीका हाकिमहरु उनलाई भेट्न अथवा फोनमा कुरा गर्न नम्बर माग्ने गरेका छन् ।

