

कतारको एनआरएनएभित्रको तीतो सत्य !

NRNA-NCC कतारको विषयलाई लिएर नेपाली समुदायभित्र विवाद कायम नै रहेको छ l मो. मुक्तदा मूसलमानको नेतृत्वमा रहेको NRNA-NCC को शुक्रवार हुने पार्षद भेलालाई लिएर कतारमा रहेका नेपाली समुदायका बौद्धिक व्यक्तिहरूले टीका-टिप्पणी गर्न थालेका छन् l
लेखौंला भनेर धेरै साथीहरू भन्नु हुन्छ। तर गलत क्रियाकलाप बारे कोही बोल्दैन मौन बस्छन् कथा मात्र सुन्दा झट्ट काल्पनिक लाग्न सक्छ। कथाको अगाडि सत्य अथवा तथ्य थपिदिँदा थोरै भए पनि न्याय हुन्छ कि भन्ने लागेको छ।
मेरो कर्मभूमिको नेपालीसमाजमा अहिले स्वदेशको जेठ र असारको झैँ चटारो आउन लागेको छ। एकदिन रोपे पश्चात दुइ वर्षलाई ढुक्क। बाली नाली पाकिरहन्छ आफूले उचित समयमा टिपेर भण्डारण गर्नसक्नु पर्दछ। यहाँ पनि रोपाईं हुन्छ र भन्ने प्रश्न उठ्न सक्छ, के गैर आवासीय नेपाली संघको निर्वाचन रोपाईं पर्व भन्दा कम हुन्छ र यहाँका कथित अग्रज अगुवा वा समाजसेवी भनाउँदा हरूका निम्ति?
सम्भवत: जुन/जुलाई मा हुने संघको निर्वाचन पश्चात दुइ वर्ष सम्पूर्ण कार्यक्रम हरूमा यसैको प्रभुत्त्व रहन्छ। संस्थापकहरू यो संस्था सामाजिक विकास तथा सांगठनिक एकताको निम्ति खोलिएको भन्ने दावी गर्दछन तर समय को विकासक्रम सँगै आजको यो अवस्थामा आइपुग्दा संघले कार्यसमितिमा पदासिन व्यक्तिहरूको मात्र विकास गरेको देख्न सकिन्छ। श्रमिकको हीतलाई सर्वोपरी ठान्ने यो संस्थाको अध्यक्षमा प्राय: साहू महाजन मात्र चुनिन्छन् (केही अपवाद बाहेक)। सामाजिक एकता र भाइचारा नारामा मात्र सिमित भएको छ अझ अगडि बढेर भन्नु पर्दा यसले समाजमा विखण्डन ल्याएको २१-२३ को कार्यकालमा स्पष्ट देखियो।
पार्षद सदस्य दश हजारभन्दा माथि भएको दावी गर्ने यो संस्थामा स्वत:स्फुर्त रूपमा सदस्य भएका पार्षदहरू एक हजार पनि पुग्न नसक्ने कुरा दावी गर्छन् समाजमा गनिएका एकजना पार्षद सदस्य। बाँकी सबै साहू महाजनहरूले आफ्ना श्रमिकका दस्तावेजहरू दूरुपयोग गरेर श्रमिकलाई थाहै नदिई बनाइएका पार्षदहरूले भरिएको छ अहिलेको यहाँको गैर आवासीय नेपाली संघ। सुन्दा झट्ट आरोप झैँ लागेपनि यो यहाँको वास्तविकता हो। जसले धेरै सदस्य बनाउँछ वा धेरै पार्षद सदस्यता शुल्क तिर्छ उही नै अघोषित रूपमा संस्थाको अध्यक्ष हुन सक्छ। विधान मा लोकतान्त्रिक विधि पद्धति अङ्गीकार गर्ने उल्लेख गरेता पनि उक्त लेखिएको विधि र पद्धतिको चिहान माथि टेकेर २१- २३ को कार्यसमिति खडा गरिएको साक्षी हामी सामुन्ने अझै छन्। पार्षद भेलामा बोल्दा माइक म्युट गरिदिने, बोल्नलाई पालो नदिने, दस्तावेजहरू छलफलको निम्ति प्रस्तुत नगरी सिधै पारित भएको घोषणा गर्ने आदि धेरै विधान विपरितका कार्यहरूका जगमा टेकेर २१-२३ को कार्यसमितिको निर्माण गरिएको थियो जसको द्वेष समाजमा अझै भेटिन्छ ।
संघले गरेको गलत कर्मका बारेमा बोल्न लगभग निषेध गरिएको छ अझै। यदि बोलि हाले विभिन्न तत्वहरू प्रयोग गर्दै डर धाक धम्कि दिने तथा सामाजिक बहिस्कार गर्न अभियान चलाएको समेत देखियो भनेर नाम उल्लेख नगर्ने शर्तमा एउटा वैचारिक संस्थाको पदाधिकारीले समेत बताए । संघको हिसाब किताब लाइ लिएर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न नकारात्मक टिका टिप्पणीहरू यही २१ – २३ को कार्यकालमा भए जुन प्राय: सबै अनुत्तरित बनेर रहस्यको गर्भमा थन्किए।
भर्खरै २३ – २५ को कार्यकालको निम्ति भनेर संघले विधान संशोधन समितिको निर्माण गरेको छ। नेपाली समाजमा योगदान दिएका, चाहना र आवश्यकतालाई महशुस गर्न सक्षम अगुवाहरूलाइ उक्त समितिले समेट्न सकेन भनेर समाजमा प्रशस्त गुनासो हरू सुनिदैछ। साहू महाजन तथा वैचारिक संस्थाका कार्यकर्ताहरूले भरिएको विधान संशोधन समितिले कसरी श्रमिकका मुद्धाहरूलई सम्बोधन गर्न सक्ला २४ फेब्रुअरीको दिन देखिएला किनकि सुनिएका अथवा अगाडि आएका गुनासाहरूलाई संघले सम्बोधन गर्ने जमर्को समेत नगरी तेस्रो पार्षद भेला २४ फेब्रुअरी २०२३ का दिन अल अरबी स्पोर्ट्स क्लबमा संघले आयोजना गर्दै गरेको सुचना संघको वेवसाइटमा प्रेषित गरिएको छ।
संघको निर्वाचन देखि सुरु भएको बेथिति सल्लाहकार समिति निर्माण गर्दा समेत देखिन्छ। सल्लाहकार समितिमा प्राय: कोटा प्रणाली लागू हुन्छ। अघिल्लो समितिका मुखपत्र बनिएका समाजका अग्रज भनाउँदा व्यक्तिहरूकै पछिल्लो कार्यकालको सल्लाहकार समितिमा प्रभुत्व रहन्छ।
समाजलाई अग्रपथमा डोहोर्याउन सक्ने सक्षम व्यक्तित्वहरू, श्रमिक हीतको निम्ति योगदान दिने आदरणिय अग्रजहरू, सक्षम नेपाली समाज निर्माण गर्न सक्ने क्षमता भएका बौद्धिक व्यक्तित्वहरू सल्लाहकार समितिमा अहिले सम्म अटाउन सकेका छैनन्। ज्ञान अथवा विवेकशून्य पथ प्रदर्शकले समाजको यो सामाजिक यात्रालाई कुन गन्तव्यमा पुर्याउला लगभग त्रासदीको अवस्था छ।
यसको सबै दोष संघ माथि मात्र थुपार्न मिल्दैन। यहाँको नेपाली समाजमा रहेका अग्रज भनाउँदा द्वैध चरित्र धारणा गरेका व्यक्तित्वहरूको पनि यसमा उत्तिकै दोष देखिन्छ। एउटा वैद्धिक पक्षलाई संघका काम कार्यवाहीमा भएका कमि कमजोरी खोज्न लगाउने अनि त्यही संघलाई देखाएर संघले गरेका कार्यक्रमहरूमा अतिथि बन्दै उपस्थित हुने अनि खादा र प्रमाणपत्रले आफ्नो उदाङ्गिएको नाङ्गोपन छोप्ने अग्रज भनाउँदा समूहहरूले झन् धेरै संघमा वेथिति निम्त्याएको देखिन्छ। यहाँ यस्तो समेत देखियो, अहिल्लो दिन त्यही समूहको विरोध गर्ने एक जना अग्रज दाजुले भोलिपल्ट उसैको कार्यक्रममा गएर अतिथिको आसन ग्रहण गर्दै उनकै प्रशंसा गरे । आफूले पाए सबै ठीक आफू बाहेकका सबै बेठीक भन्ने हाम्रो समुदायमा भएका यस्ता दुषित सोचहरूले समाजमा झन् धेरै विखण्डन ल्याएको छ। यसले श्रमिक र साहूविचको दूरीलाई झन् धेरै बढाएको छ। हुँदा खाने र हुने खाने बीच ठूलो पर्खाल निर्माण गरेको छ।
के अब आउने २३ – २५ कार्यकालको निम्ति हाम्रो समाजले अघिल्लो कार्यसमितिले निर्माण गरेको बेथितिको, अकर्मण्यताको, दर्पको, उद्दण्डताको पर्खाल भत्काउन सक्ने, नेपाली समाजको भलाइको निम्ति सोच्ने, सोचलाई कार्यान्वयन गर्ने, श्रमिक समस्या समाधानका निम्ति लाग्न सक्ने सक्षम नेतृत्व श्रमिक वर्गबाट गैर आवासीय नेपाली संघको निम्ति छनौट गर्न सक्छ ? मनन गर्न र सक्षम नेतृत्व छनौट गर्न आह्वान गरेका छन् ।

