प्रहरीका बहालवाला १ एआईजीसहित ८ डिआईजीको जन्ममिति फरक !

उजुरी परेका अशोक सिंहसहित उजुरी नपरेका ८ गरी सबै ९ बारे होला त छानबिन ?  


काठमाडौं – नेपाल प्रहरीमा प्रायः जसोगरी नेतृत्व परिवर्तन हुने बेलामा जहिले पनि अनेक विवाद देखिँदै आएको छ । राजनीतिक दलका नेतृत्वको प्रत्यक्ष हस्तक्षेप रहने गरेको नेपाल प्रहरीमा करिब १ महिनापछि नयाँ नेतृत्व आउने प्रबल सम्भावना रहेको छ । सरकारले नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि नहटाएको खण्डमा वर्तमान प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अनिवार्य अवकाशमा जाँदैछन् ।

त्यसपछि नयाँ नेतृत्वका लागि अहिले भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु पनि उनीसँगै अवकाशमा जाने भएपछि प्रहरी नायब महानिरीक्षक (डिआईजी) बाट बढुवा गरेर संगठन प्रमुखको जिम्मेवारी सरकारले दिनुपर्नेछ ।

सरकारले एआईजीको दरबन्दी खाली भएको करिब ७ महिनायतादेखि बढुवा गर्न सकेको छैन । विभिन्न मितिमा गरेर अहिलेसम्म ५ जना एआईजीको दरबन्दी खाली रहेको छ । भावी नेतृत्वका लागि प्रहरीका १७ डिआईजी दौडमा रहेका छन् । अहिले प्रहरीका २० जना डिआईजी रहेपनि ती मध्येमा ३ जना चैत ११ मै अवकाशमा जाने भएकाले डीआईजी बढुवाका लागि १७ जनाको प्रतिस्पर्धा देखिएको हो । तर मुख्य गरी शीर्ष ३ भित्र परेकालाई नै भावी आईजीका रुपमा हेरिएको छ ।

शीर्ष ३ भित्र परेका र संगठनमा अब्बल ठानिएका डिआईजी अशोक सिंहलाई संगठनभित्रबाटै उमेर झुक्याएर जागिर खाइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

जागिरको सुरुवातीकाल खण्डमा नेतृत्वको कोपभाजनमा परेका सिंह उत्तरार्द्धमा भने भने संगठनभित्रकै सहकर्मीहरुको षडयन्त्रमा फसेका छन् । केही प्रतिस्पर्धीहरुले मिडियाबाजी गर्दै उनलाई दोषी करार गर्दै आफू अगाडि बढ्न खोजी रहेका छन् ।

डिआईजी सिंहको नागरिकता र नेपाल प्रहरीको सिटरोलमा जन्ममिति फरक भएको भन्दै उजुरी परिरहेका बेला अन्य प्रहरी अधिकारीहरुको बारेमा पनि मिडियाका साथै उजुरीकर्ताहरु मौन रहेका छन् ।

अनलाइनन्यूज७ लाई प्राप्त स्रोतका अनुसार नेपाल प्रहरीका एक एआईजी र ८ डिआईजीको जन्ममिति फरक रहेको पाइएको छ । स्रोतका अनुसार एआईजी दिवेश लोहनीको उमेर ६ महिना २६ दिन फरक रहेको पाइएको छ । उनको सिटरोलमा २०२४/६/२९ रहेको छ भने नागरिकतामा २०२५/१/१५ तथा शैक्षिक योग्यतामा २०२४/६/१९ उल्लेख गरिएको छ । उनीसँग रहेका तीन वटा सरकारी कागजमा तीन वटा जन्ममिति रहेका छन् ।

डिआईजी नलप्रसाद उपाध्यायको पनि जन्ममिति ६ महिना १४ दिन फरक भेटिएको छ । उपाध्यायको सिटरोल र नागरिकतामा २०२४/४/१९ तथा शैक्षिक योग्यतामा २०२४/११/३ उल्लेख गरिएको छ ।

अर्का डिआईजी मोहन आचार्यको सिटरोल र शैक्षिक योग्यतामा २०२४/१०/१७ रहेको छ भने नागरिकतामा २०२४ साल मात्र उल्लेख गरिएको छ । डिआईजी मसउद आलम खाँको पनि ५ महिना १ दिन जन्ममिति फरक रहेको पाइएको छ । खाँको सिटरोलमा २०२५/७/१२ रहेको छ भने नागरिकतामा २०२५/१२/१३ तथा शैक्षिक योग्यतामा २०२५/७/११ उल्लेख गरिएको छ । उनको सिटरोल, नागरिकता र शैक्षिक योग्यता सबैमा जन्ममिति फरक–फरक रहेको पाइएको छ । उनीहरु तीनैजना आईजी सिंहसँगै चैत ११ गते अवकाश पाउने अधिकृत हुन् ।

त्यस्तै भावी आईजीका दाबेदार डिआईजी अशोक सिंहको जन्ममितिमा १ वर्ष ६ महिना २४ दिन फरक परेको देखिन्छ । डिआईजी सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ । उनको सिटरोल र शैक्षिक योग्यतामा जन्ममिति २०२५/९/१६ छ भने नागरिकतामा २०२४/२/२२ भएको प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखाना उल्लेख छ । जवकी उनले २०४२/२/२२ मा लिएको नागरिकतामा उनको उमेर १८ वर्ष लेखिएको छ ।

त्यसैगरी डिआईजी श्यामलाल ज्ञवालीको पनि जन्ममिति ५ महिना ५ दिन फरक रहेको पाइएको छ । उनको सिटरोल र शैक्षिक योग्यतामा २०२५/५/२६ रहेको छ भने नागरिकतामा २०२४/१२/२१ उल्लेख छ । ज्ञवालीले भने आफ्नो सबै कागजपत्रमा एउटै जन्ममिति २०२५/५/२६ रहेको र विवादमा ल्याउनका लागि झुटो विवरण सार्वजनिक गरिएको दावी गरेका छन् ।

अर्का डिआईजी किरण बज्राचार्यको पनि जन्ममितिमा २९ दिन फरक भेटिएको छ । उनको सिटरोल र नागरिकतामा २०२५/९/१६ उल्लेख छ भने शैक्षिक योग्यतामा २०२५/८/१७ उल्लेख भएको पाइएको छ ।

त्यस्तै अर्का डिआईजी भीमप्रसाद ढकालको उमेरमा १ वर्ष फरक पाइएको छ । उनको प्रहरी सिटरोलका अनुसार २०२५/०८/२८ रहेकोमा नागरिकतामा भने २०२४/०८/२८ रहेको छ । उनको १ वर्षको उमेर फरक पाइएको छ ।

त्यस्तै अर्का डिआईजी किरण राणाको जन्ममिति १ दिनको फरक पाइएको छ । उनको प्रहरी सिटरोल र नागरिकतामा एउटै उमेर रहेता पनि शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको उमेरमा फरक पाइएको हो । नागरिकता र प्रहरी सिटरोलअनुसार उनको उमेर २०२५/०७/१६ रहेकोमा शैक्षिक योग्यताको प्रमाणपत्रमा उनको जन्ममिति २०२५/०७/१६ रहेको छ ।

यसरी संगठनभित्र रहेका उच्च पदस्थ अधिकारीहरुको जन्ममितिमा फरक देखिनु पक्कै पनि सकारात्मक भने मान्न सकिँदैन ।

डिआईजी अशोक सिंहविरुद्ध उजुरी परेपछि अन्य यी अधिकृतहरु पनि छानबिनमा पर्ने सम्भावना देखिएको छ ।

उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध विश्वप्रकाश भेटवालले अख्तियार उजुरी दिएका छन् । डिआईजी सिंहको मात्र नभई अन्य अधिकारीहरुको पनि सेवा प्रवेश गर्दाको उमेर, नागरिकता र सिटरोलमा जन्ममिति फरक–फरक भेटिएपछि आईजीपी सिंह कानुनी परामर्शमा जुटेको बताइएको छ । आधा दर्जन बढी अधिकारीहरुको उमेर फरक देखिएपछि गृह सचिव विनोदप्रकाश सिंह पनि कानूनी परामर्शमा जुटेको स्रोतले बतायो ।

प्रतिक्रिया