

एआईजी बढुवा प्रक्रिया फागुन १३ पछि मात्रै !
संगठनको नेतृत्व लिनका लागि बढुवा गर्नैपर्ने बाध्यता, को–को छन् त मुख्य दाबेदार ?

काठमाडौं – पछिल्लो समय प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पूजा सिंहले अवकाश पाएसँगै नेपाल प्रहरीमा ५ एआईजीको पद खाली रहेको छ ।
गत साउन २० गतेदेखि एआईजीको खाली हुने क्रम अहिले फागुन ५ मा एआईजी पूजा सिंहले अवकाश पाएसँगै ५ जनामा पुगेको छ । पद खाली भएको ३ महिनाभन्दा धेरै खाली राख्न नहुने प्रहरी नियमावली विपरित पछिल्लो समय करिब ७ महिनादेखि एआईजी दरबन्दी खाली रहेको छ ।
आम निर्वाचन परेका कारण विचमा केही समय तत्कालिन सरकार वा गृहमन्त्रालयले एआईजी बढुवाको बहाना बनाए पनि अहिले नयाँ सरकार गठन भएपछि पनि एआईजी दरबन्दी ‘फुलफिल’ गर्ने कुनै सुरसार देखिएको छैन ।
आगामी चैत ११ गते वर्तमान महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाउने छन् । उनीपछि संगठनको नेतृत्वका लागि अब बढुवा हुने एआईजीका लागि ढोका खुल्ला हुनेछ । अहिले बहाल रहेका अन्य ३ एआईजीहरु सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनी पनि सिंहसँगै अवकाश हुने भएकाले नयाँ एआईजीले संगठनको नेतृत्व सम्हाल्नेछन् ।
एआईजी बढुवाको सम्भावना आगामी १३ गतेपछि मात्र हुने देखिएको छ । राष्ट्रपतिका लागि निर्वाचनको तय भएसँगै सत्ता समीकरणमा अदलबदल हुनसक्ने सम्भावना रहेकोले तत्काल गृहको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री पुष्पकमल दाहालले एआईजी बढुवाको फाइल अगाडि नबढाएको स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार राष्ट्रपति निर्वाचनसँगै सत्ता समीकरणमा परिवर्तन नभएमा गृहमन्त्रीको समेत जिम्मेवारी कसैलाई दिने जनाइएको छ । त्यसपछि मात्रै गृहबाट प्रहरीमा बढुवा प्रक्रिया अगाडि बढ्ने भएको छ । नेपाल प्रहरीको नेतृत्वका लागि राजनीतिक नेतृत्वको प्रभाव पर्ने प्रचलन रहि आएकाले राष्ट्रपतिको टुंगो अगाडि एआईजी बढुवा नहुने पक्का छ ।
नेपाल प्रहरीमा २०७९ साउन २० मा एआईजी विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कार्तिक १४ मा अरुण बि।सी र कार्तिक २४ मा रबिन्द्र धानुकले अवकाश पाएका थिए । त्यस्तै पूजा सिंहले फागुन ५ मा अवकाशसँगै प्रहरीमा ५ दरबन्दी रिक्त रहेको छ ।
अहिले खाली रहेको ५ पदका लागि दर्जनबढी आकांक्षी रहेका छन् । मेरिट लिस्टका आधारमा बढुवा हुनेमा प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहकै ब्याजीहरु अग्रपंक्तिमा रहेका छन् । लिस्टअनुसार मसाउद अलम खाँ, नल प्रसाद उपाध्याय र मोहनकुमार आचार्य अगाडि रहे पनि उनीहरू आईजी सिंहसँगै अवकाश पाउने भएकाले संगठनको नेतृत्व पछिल्लो ब्याचबाट बढुवा भएका एआईजीले पाउनेछन् ।
जसअनुसार गत असारमा डिआईजीमा बढुवा भएका अशोक सिंह, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा र उमेशराज जोशी प्रतिस्पर्धामा अगाडि छन् । त्यसबाहेक डिआईजीहरु श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दुर्गा सिंह, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ र किरण राणामध्येबाट जो पनि एआईजी हुँदै आईजी बन्ने सम्भावना भने बाँकी नै छ ।
प्रहरीभित्र ३० वर्षे सेवा हद हटाइने चर्चा पनि यदाकदा सुन्ने गरिएको छ यदि त्यस्तो भएमा हालकै आईजी सिंहको कार्यकाल लम्बिनेछ ।

