

नयाँ राष्ट्रपतिः चर्चा एउटाको, कुर्सी अर्काको !
कांग्रेस सभापति शेरबहादुर देउवाले नै १३ गते उम्मेदवारी दर्ता गराएमा कुनै आश्चर्य हुनेछैन

नेपालको इतिहासमा चौथो कार्यकालको तेस्रो राष्ट्रपति चुनिन एक महिना पनि बाँकी छैन । यही फागुन २८ गते वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदैछ । उनी लगातार दोस्रोपटक राष्ट्रपतिको कार्यकाल सकाउने पहिलो राष्ट्रपति बनेकी छिन् ।
निर्वाचन आयोगले आगामी २५ गते हुने निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरिसकेको छ । तर पनि पछिल्ला दिनमा राजनीतिक भागबन्डा एवं चलखेलका कारण अहिलेसम्म राष्ट्रपति कुन दल वा को हुने भन्ने बारेमा टुंगो लागिसकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन गर्नुअघि दोस्रो ठूलो दल नेकपा एमालेलाई राष्ट्रपति दिने भन्ने सहमति भएको थियो । सो सहमतिअनुसार एमालेले राष्ट्रपतिमा ह्याट्रिक गर्ने निश्चित भएको थियो । तर पछिल्ला दिनका राजनीतिक घटनाक्रमले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने कुरामा आशंका उब्जिन थालेको छ ।
प्रधानमन्त्री प्रचण्डले समेत कहिँ कतै राष्ट्रपतिका लागि अन्य दलका नेतासँग सहमति गरिसकेर राष्ट्रिय सहमतिको डंका बजाइरहँदा एमाले सशंकित बनेको छ । यदि प्रचण्डले राष्ट्रपति एमालेलाई नदिएर अर्कैसँग सहमति गरेको खण्डमा एमालेले आफूलाई ‘धोका’ दिएको सम्झिएर सरकार छाड्ने सम्मको तयारी गरिरहेको स्रोतले जनाएको छ ।
कतिपय मन्त्रीहरुले मातहतको निकाय वा विभागहरुमा हुने मन्त्रीस्तरीय निर्णयबाट हुने नियुक्तिहरु नगर्नु त्यसको कारक तत्व मान्न सकिन्छ । माओवादी केन्द्रका मन्त्रीहरुले धमाधम नियुक्ति गरिरहँदा एमालेका मन्त्रीहरुले नियुक्तिको तयारी गरे पनि राष्ट्रपति निर्वाचनसम्म कसैलाई पनि नियुक्ति नगरेको जनाइएको छ । ‘राजनीतिक नियुक्ति मन्त्री परिवर्तन भएसँगै खारेज हुन्छ, अहिले नियुक्ति गरेर के गर्नु ?’ एकमन्त्री निकटले सुनाए ।
भावी राष्ट्रपतिमा कांग्रेस सभापति शेरबहादुर देउवा नै त हुने होइनन् भन्ने आशंका उब्जिन थालेको छ । देउवाका विश्वासपात्र डा.महतले ५ वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा बताइरहँदा देउवा राष्ट्रपतिमै जानका लागि पनि तयार रहेको हुनसक्ने आशंकालाई थप मलजल गरेको हो । देउवाको उमेरका कारण पनि अब अर्को निर्वाचनपछि प्रधानमन्त्री हुने सम्भावना कम रहेकाले अहिले राष्ट्रपतिमै भए पनि ‘चित्त बुझाउने’ मनशायबाट अगाडि बढेको हुनसक्ने पनि आशंका गर्ने ठाउँ महतको अभिव्यक्तिबाट देखिएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरिसकेको छ । जसअनुसार यही फागुन १० गते मतदाताको नामावली प्रकाशित हुनेछ भने १३ गते उम्मेदवार मनोनयन गर्नुपर्नेछ ।
भावी राष्ट्रपतिका लागि उम्मेदवारका बारेमा सोधिएको प्रश्नमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १३ गते मात्र सार्वजनिक गर्ने बताइरहेका बेला देशमा नयाँ राष्ट्रपति को हुने भन्नेमा कौतुहलता देखिइरहेको छ ।
अहिलेसम्मको राष्ट्रपतिका लागि सबैले स्वीकार्न सक्ने व्यक्तिको आवश्यकता भनेर नेताहरुले विभिन्न कार्यक्रममा भनिरहे पनि सबैले आफ्नै दलबाट राष्ट्रपति बनाउन तम्सिइरहेका छन् ।
नेकपा एमालेबाट राष्ट्रपतिका लागि सर्वाधिक योग्य र आशा गरिएका व्यक्ति सुवास नेम्बाङ भए पनि अध्यक्ष ओली उनका बारेमा सकारात्मक देखिएका छैनन् । ओलीले ईश्वर पोखरेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनसक्ने आंकलन गर्न सकिन्छ । एमालेबाट राष्ट्रपतिको उम्मेदवारको सूचीमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र अमृतकुमार बोहोरा पनि चर्चामा रहेका थिए । तर ती मध्ये कसले बाजी मार्नेहुन् त्यो कुर्न १३ गतेसम्म पर्खनै पर्ने भएको छ । ओलीले आइतबारमात्रै विराटनगर विमानस्थलबाट १३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने बताइसकेका छन् ।
त्यस्तै लोसपा नेता महन्थ ठाकुर राष्ट्रपतिको उम्मेदवार भएमा पनि नौलो नहुने आंकलन कतिपय राजनीतिक विश्लेषकहरुले गरेका छन् ।
पछिल्ला दिनमा कांग्रेस पदाधिकारीहरुको अभिव्यक्ति सुन्दा आगामी राष्ट्रपति कांग्रेसको पोल्टामा परिसकेको निश्चित भएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसले पाएमा प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्रीमा स्वीकार्ने बताइरहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि कांग्रेसकै मान्छे उम्मेदवार हुने सार्वजनिक कार्यक्रमहरुमा बताइरहेका छन् ।
त्यसकारण भावी राष्ट्रपतिमा कांग्रेस सभापति शेरबहादुर देउवा नै त हुने होइनन् भन्ने आशंका उब्जिन थालेको छ । देउवाका विश्वासपात्र डा.महतले ५ वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा बताइरहँदा देउवा राष्ट्रपतिमै जानका लागि पनि तयार रहेको हुनसक्ने आशंकालाई थप मलजल गरेको हो । देउवाको उमेरका कारण पनि अब अर्को निर्वाचनपछि प्रधानमन्त्री हुने सम्भावना कम रहेकाले अहिले राष्ट्रपतिमै भए पनि ‘चित्त बुझाउने’ मनशायबाट अगाडि बढेको हुनसक्ने पनि आशंका गर्ने ठाउँ महतको अभिव्यक्तिबाट देखिएको छ ।
गत निर्वाचनपछि नै कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवारका लागि सर्वाधिक आकांक्षीका रुपमा रामचन्द्र पौडेल देखिए पनि उनले देशभित्र र देशबाहिर पनि खासै आफ्नो पक्षमा मत लिन नसक्ने देखिएको छ । उनी भन्दा कांग्रेसका कृष्णप्रसाद सिटौलाको नाम पनि चर्चा भएको छ । निर्वाचनमा पराजय भोगेका सिटौलाले राष्ट्रपतिको अपेक्षा गर्नु कत्तिको न्यायीक हुन्छ भन्ने प्रश्न पनि उठेको छ । त्यस्तै कांग्रेसले राष्ट्रपतिलाई दमननाथ ढुंगानालाई पनि उठाउनसक्ने चर्चा सुनिइरहेको छ ।
राष्ट्रपतिमा नेता झलनाथ खनालले बलियो दाबेदारी प्रस्तुत गरे पनि त्यसको खासै तुक भने देखिएको छैन । उनले समर्थन गरेको राजनीतिक दल एकीकृत समाजवादी दल निर्णायक तहमा नरहेका कारण उनको आकांक्षा आकांक्षामै सीमित हुने देखिएको छ ।
राजनीतिक दलभित्रका यिनै सम्भावित नामबाट नै गणतन्त्र नेपालको चौथो कार्यकालको तेस्रो राष्ट्रपति हुने सम्भावना देखिएको छ । तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिसहित राष्ट्रपति बनाउने भन्ने अभिव्यक्ति दिइरहेकाले गैर राजनीतिक व्यक्तिले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना पनि रहेको छ ।

