

मोरङमा दुई जना पुरुष मृत फेला

विराटनगर – मोरङका अलगअलग स्थानमा २ जना पुरुष मृत फेला परेका छन् । दुवै जनाको पहिचान खुल्न बाँकी छ। बेलबारी नगरपालिका–३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष बुधबार दिउँसो ३ बजेतिर मृत फेला परेका छन् ।
सुतिरहेको अवस्थामा मृत फेला परेका पुरुषको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति मृत फेला परेका छन् । उत्तानो परेको र शरीरको आधार भाग पानीमा डुबेको अवस्थामा राति साढे ९ बजेतिर शव भेटिएको डीएसपी कार्कीले बताए ।
उनका अनुसार शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले घटनाको अनुसन्धान गरिरहेको छ ।

