

मकवानपुरबाट गाँजा बाेकेकाे गाडीसहित एक जना नियन्त्रणमा

काठमाडौं – मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करिब १ सय ५८ किलो गाँजा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
गत आइतबार राति सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा नगरपालिका-३ बस्ने बिशाल गोपालीलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीले ना ६ ख ४५२० नम्बरको गाडीमा जाँच गर्दा गाडीको क्याबिनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको थियो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गोपालीलाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ ।

