

आईजीले ब्याचीहरुलाई बनाउलान् एआईजी ?
यसअघि डिआईजीसम्म भएका अधिकृतहरुलाई चाहेर पनि एआईजी बनाउन नसक्दा अहिलेका आईजीलाई त्यो अवसर छ ।

११ चैत २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएका धिरजप्रताप सिंह कार्यकुशलताका हिसाबले अब्बल प्रहरी अधिकृत हुन् । प्रहरी संगठनभित्र सिंहलाई व्यावसायिक प्रहरी अधिकारीका रूपमा मानिन्छ ।
त्यहि बुझेर १९ वैशाख २०७९ मा तत्कालिन सरकारले सिंहलाई प्रहरी संगठनको बाग्डोर सम्हाल्ने जिम्मेवारी दियो । प्रहरी महानिरीक्षक (आईजी) नियुक्त भएसँगै सिंहप्रति धेरै प्रहरी कर्मचारीहरुको आशा/विश्वास बढ्यो ।
संगठनको नेतृत्व सम्हालेको ४ दिनमै आफ्नो ब्याचमेट वसन्त लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गर्न सफल भए । जतिबेला प्रहरीमा ५ एआईजी पद रिक्त रहेपनि लामाको मात्र बढुवा सिफारिस भएको थियो ।
३० वर्षे करियरको अन्तिम समय (अवकाश) मा जानु एकदिन अघि मात्रै सिंहले लामालाई एआईजीमा बढुवा गरेर न्याय दिएको चर्चा हुन्छ अहिलेपनि । एआईजीको दज्र्यानी चिह्न लगाएको १२ घण्टा नबित्दै लामाले संगठनबाट अवकाश पाएका थिए ।
यसरी आईजी सिंहले आफ्नो ब्याचीलाई एक दिनको लागि भएपनि एआईजी बढाउन पर्छ भनेर अड्डी कसेपछि आफ्नो ब्याचीहरु मात्र नभएर तल्लो तहका प्रहरी कर्मचारीहरु समेत खुसी थिए ।
ब्याची विश्वराज पोखरेल र सहकुल थापा सिंहभन्दा पहिला नै एआईजी भइसकेका थिए । एआईजीमा सिनियर भएपनि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले एआइजीको दरबन्दी सिर्जना गरेर सिंहलाई अगाडि ल्याएर आईजी बनाएको थियो ।
त्यस्तै ब्याची रवीन्द्र बहादुर धानुक सिंहसँगै एआईजी भएका हुन् । पोखरेल र धानुक एआईजीबाट अवकाश पाइसकेका छन् भने थापा आईजी सिंहसँगै मिलेरै काम गरिरहेका छन् ।
एक्लो एआईजी भएका लामाले अवकाश पाएको २ दिनपछि उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पुजा सिंहलाई एआईजीमा बढुवा गरे । जसमा बिसी र आचार्यले अवकाश पाइसकेका छन् ।
हाल नेपाल प्रहरीमा चारवटा एआईजी पद रिक्त छ । जसमा प्रतिस्पर्धाको लागि आईजी सिंहकै ब्याची प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरु छन्– नलप्रसाद उपाध्याय, मसाउद आलम खाँ र मोहन कुमार आचार्य ।
उनीहरु तीनैजना एआईजी बन्न लागिपरेका छन् । लामालाई १ दिनको लागि एआईजी बनाएका आईजी सिंहले आफूहरुलाई पनि एआईजी बनाउनेमा उनीहरु विश्वस्त रहेको बताइएको छ ।
यदी साँच्चीकै उनीहरुलाई एआईजी बनाएको अवस्थामा आईजी सिंहको नेपाल प्रहरीको इतिहासमा एउटा सम्झना चाहिँ पक्कै हुनेछ । आफ्नो ब्याचबाट जति पनि डिआईजीसम्म बन्ने अवसर पाए तिनीहरु सबैलाई एआईजी बनाएको भनेर सम्झिनेछन् ।
अहिलेसम्म नेपाल प्रहरीमा २९ जना आईजी भए । कुनै पनि आईजीले आफ्नो ब्याचबाट डिआईजीसम्म बन्ने अवसर पाएका सबै अधिकृतहरुलाई चाहेर पनि एआईजी बनाउन सकेका छैनन् । तर, यो अवसर अहिलेका आईजी सिंहलाई छ ।
‘४÷४ वटा एआईजी पद रिक्त रहेको अवस्थामा आफ्नै ब्याचीहरुलाई एआईजी बनाउँदा एउटा राम्रो सन्देश समेत जानेछ,’ प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले भने, ‘त्यसो गर्दा आउँदो ब्याचलाई समेत असर नपर्ने देखिन्छ ।’
अहिलेकै व्यवस्था कायम रहे हालका आईजी सिंहले आउँदो चैतमा अवकाश पाउनेछन् । करिब डेढ महिना बाँकी रहँदा सिंहले आफ्नो ब्याचीहरुलाई एआईजी बनाउन सकारात्मक रहेको समेत प्रधान कार्यालय स्रोत बताउँछ ।
प्रहरी नियमावलीमा रिक्त रहेको पद ३ महिनाभित्र पुर्ति गर्नुपर्ने व्यवस्था छ । तर प्रहरी संगठनमा गत २१ साउनदेखि एआईजी पद रिक्त हुँदासमेत बढुवा गर्न कठिनाई भएको देखिन्छ ।
आईजी नियुक्त हुँदै गर्दा नेपाल प्रहरीको इतिहास नै बदल्ने अवसर सिंहलाई दिइएको भनेर चर्चा समेत हुने गथ्र्यो । हुनपनि उनका पालामा धेरै नीतिगत पहलकदमी लिइएको प्रहरी प्रधान कार्यालयको दाबी छ ।
बालुवाटारको समेत चासो
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारले समेत एआईजी बढुवामा चासो राखेको स्रोत बताउँछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सल्लाहकार टिमसँग एआईजी बढुवाबारे चासो राखेका थिए ।
सर्वोच्च अदालतले नागरकता विवादमा रवी लामिछानेको सांसद पल खारेज गरिदिएसँगै उपप्रधान तथा गृहमन्त्री पद गुमेको थियो । हाल मन्त्रालय मन्त्रीविहिन छ । जसको नेतृत्व प्रधानमन्त्री आफैंले लिएका छन् ।
सोही भएर पनि प्रधानमन्त्री प्रचण्डले एआईजी बढुवामा चासो राखेर आईजी सिंहलाई निर्देशन दिएको स्रोतको दाबी छ । प्रधानमन्त्री प्रचण्ड र आईजी सिंह एउटै ब्याचीहरुलाई बढुवा गर्नुपर्ने पक्षमा रहेका छन् ।
तर, एआईजी बढुवामा अन्य राजनीतिक दलका नेताहरुको समेत चासो छ । वर्तमान सरकार गठबन्धनको सरकार हो । संसदमा कसैको बहुमत छैन । त्यसैले सबैलाई मिलाएर लैजानुपर्ने पक्षमा छन् प्रधानमन्त्री प्रचण्ड ।
त्यसैले अन्य राजनीतिक दलका नेताहरुले आफ्नो मान्छेलाई एआईजीमा बढुवा गर्नुपर्ने भन्दै दबाब दिएका कारण बढुवामा कठिनाई भएको हुनसक्ने मन्त्रालयको अनुमान छ । जसका लागि नयाँ ब्याचीहरुले समेत चासो देखाएका छन् ।
२०५१ को ब्याची र २०५२ को ब्याचीहरु समेत एआईजी बढुवाको प्रतिस्पर्धामा छन् । बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेश जोशी, भीम ढकाललगायत पनि दाबेदार हुन् । उनीहरुले आ–आफ्नो ठाउँबाट लबिङ गरिरहेका छन् ।

