

रास्वपा आकस्मिक केन्द्रीय समिति बैठकः प्रधानमन्त्री प्रचण्डको ‘प्रस्ताव’मा छलफल

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिले पार्टी कार्यालय बसुन्धारामा बसिरहेको छ ।
अघि ९ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावबारे छलफल भइरहेको जनाइएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले रास्वपा अध्यक्ष रवि लामिछानेलाई गृहमन्त्रालयको सट्टामा भौतिक पूर्वाधार मन्त्रालयको प्रस्ताव राखेको बालुवाटार स्रोतले जनाएको छ ।
गृहमन्त्रालयबारे निर्णय लिन रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको दुई दिने अल्टिमेटम आजै साँझदेखि सकिएको छ । रास्वपा अध्यक्षले गृहमन्त्रालयमा दाबी गरिरहे पनि प्रधानमन्त्री भने रास्वपालाई गृहमन्त्रालय नदिने पक्षमा रहेका छन् ।
तर, सत्ता घटक अन्य दलहरु भने सरकार गठन हुँदाका बखत गरिएको सम्झौतालाई पूरा पालना गर्दै प्रधानमन्त्रीले गृहमन्त्रालय रास्वपालाई नै दिनुपर्नेमा जोड दिएका छन् ।

