

५ वर्ष अघि श्रीमानलाई मारेर शौचालयमा फाल्ने भद्रकला पक्राउ

जाजरकोट – ५ वर्षअघि श्रीमान्को हत्या गरि शौचालयमा फाल्ने महिला पक्राउ परेकी छिन् । जाजरकोटको भेरी नगरपालिका–६ सिस्नेका काले कामीलाई ५ वर्ष अघि श्रीमती भद्रकला कामीले हत्या गरी शौचालयको खाडलमा फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी जाजरकोटबाट खटिएको प्रहरी टोलीका अनुसार कामीलाई २०७४ पुस ३० गते राती श्रीमती भद्रकलाले निधारमा लाठीले हानेर हत्या गरेको जनाइएको छ ।
हत्यामा उनका छोराहरू तुल्सीराम विक र गोविन्द विक पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
काले कामीको मृत्यु भएपछि भद्रकला र छोराहरूले सल्लाह गरी घर नजिकैको शौचालयको खाडलमा पुरेका थिए।
यही माघ १७ गते यो विषयमा प्रहरीलाई गोप्य सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सूचनापछि जिल्लाबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेर शौचालयको खाडल खनेको थियो।
खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको थियो। घटनाको बारेमा आवश्यक थप अनुसन्धानका भद्रकला, तुल्सीराम विकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याइएको छ।

