

मकवानपुरे जनतासँग गरेको बाचा भुलेको छैनः राज्यमन्त्री सिंह

हेटौँडा — ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री दीपक बहादुर सिंहले आफूले जनतासँग गरेको बाचा नभुलेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जानु भनेको आफ्नो मूल्य मान्यतालाई थप बलियो बनाउनु भएको बताउँदै उनले पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग नसाट्ने समेत जनाएका छन् ।
राज्यमन्त्री सिंहले मूल्य मान्यतालाई रद्दीको टोकरीमा फालेर अघि बढ्ने स्वभाव आफ्नो र राप्रपाको नरहेको दाबी गरे ।
आफूले निर्वाचनको समयमा मकवानपुरे जनतासँग गरेको बाचा नभुलेको उल्लेख गर्दै सिंहले जनतासँग गरेका वाचाहरू पूरा गर्न निर्वाचित भएकै दिनबाट लागिसकेको दाबी गरे ।
आफू राप्रपाको तर्फबाट विजयी भएको भएपनि मकवानपुरको विकासमा अन्य दलसँग सहकार्य गरेर अघि बढ्ने राज्यमन्त्री सिंहको भनाई छ ।

