न घर लिपपोत, न गाउँमा चहलपहल


दुर्गा देवकोटा

टीकापुरविगतका दशैंमा टीकापुर नगरपालिका४ बाघमाराकी खेमा शर्माको घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो । यस वर्ष कोरोना महामारीको त्रासले उनलाई दशैं मनाउन मन लागिरहेको छैन । समय सबैभन्दा बलवान छ । हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिड्नुपर्छ, शर्माले भने, ‘यो बेला कोरोना भाइरस सङ्क्रमणले सबैतिर आक्रान्त पारेको छ । कोरोनाको प्रभाव र सरकारको आग्रहअनुसार सुरक्षित भएर बस्नुपर्ने भएकोले आँगनमा आएको दशैँ पनि मनाउन मन लागेन । शर्माले यस वर्ष घरमै सामान्य पूजाआजा र टिकाटालो गर्छन । अघिल्ला वर्षजस्तो खसी ढाल्ने, माइती जाने, आफन्तकहाँ जाने र आउने काम बन्द हुनेछ, उनी भन्छन्, ‘‘यस वर्ष बाँचे पो अर्को वर्ष मनाउला भनेर केही गरेनौँ ।

शर्माको घरमा जस्तै यस वर्षको दशैंमा गाउँघरमा विगतका वर्षजस्तो चहलपहल देखिँदैन । विगतका वर्षमा हप्ता दिन पहिले घर लिपपोत गर्ने, सरसमान मिलाउने, गाउँमा नाचगान गर्ने गरिन्थ्यो तर यस वर्ष त्यस्तो भएको खासै नदेखिएको टीकापुर१ विपतपुरका वीरबहादुर मगर बताउछन् । दशैँ भनेपछि गाउँ नै रमाइलो हुन्थ्यो, बाहिर भएका सबै घर फर्कन्थे, मगरले भने, ‘यस वर्ष त दशैंअगावै खर्च सकिएर लकडाउनमा घर फर्केका नेपाली भारत पसेका छन्, आर्थिक समस्या टार्न नसकेर कामको खोजीमा भारत पसेका हुन् ।

पहिले भारत वा देश बाहिर रहेका, विभिन्न कारणले घर बाहिर भएकाहरू दशैं मनाउन गाउँघर फर्कनेको लर्को लाग्थ्यो । दशैंमा गाउँमा उमङ्ग भएपनि यस वर्ष खासै उत्साह नभएको भजनी नगरपालिका राजबाराकी आरती विकले बताइन् । गाउँमा सबै त्रसित छन्, मानिसले बोलचाल बन्द गर्न थालिसके, विकले भनिन्, ‘‘म पनि यस वर्ष माइत नजाने भएको छु ।

प्रायः दशैंको समयमा थारु गाउँमा निकै चहलपहल हुन्थ्यो । आजभोलि थारु गाउँमा पनि चहलपहल र रमाइलो छैन । विगत वर्षमा यो समयमा फरकफरक टोल र थारु गाउँका नाटक, थारु नांच हुने गरेको देखिन्थ्यो तर यस वर्ष त्यस्तो उल्लास छैन, टीकापुरकै राजाराम चौधरी भन्छन्, ‘थारु समुदायले एक महिनासम्म नाच्ने सखिया, बड्का, मुङग्रौहा, झुम्रा लगायतका नाच देख्न पाइएको छैन ।

कोरोनाका कारण गाउँघर मात्र नभइ शहर बजारमा पनि नागरिकको चहलपहल कम छ । बन्दाबन्दीले आर्थिक संकट पनि सिर्जना गरेको छ । टीकापुरकी कमला रावल मानिसको चहलपहल नहुनुमा र्आिर्थक कारण पनि रहेको बताउछिन् । छ महिनादेखि सबै क्षेत्र बन्द रह्यो, मानिससँग अर्थ छैन, रावलले भने, ‘रकम भए पो किनमेल, चहलपहल हुन्छ ।

टीकापुर अस्पतालका सिनियर नर्स कल्पना खड्काले स्वास्थ्य सबैभन्दा ठुलो भएकाले यस्तो बेलामा स्वास्थ्य सुरक्षामा ध्यान नदिइ भीडभाड गरेर चाडपर्व नमनाउनु नै उचित भएको बताइन् । (रासस)

प्रतिक्रिया