न्यूजिल्याण्डको अकल्याण्डमा भीषण वर्षा र बाढी, आपतकाल घोषणा


अकल्याण्ड – मुसलधारे वर्षाका कारण आएको बाढीपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्यान्डमा आपतकाल घोषणा गरिएको छ । यसअघि शुक्रबार अकल्याण्डमा भीषण वर्षा भएको थियो, जसका कारण मानिसहरु विस्थापित हुन बाध्य भएका थिए । अविरल वर्षाका कारण आएको बाढीका कारण यातायात र विद्युत आपूर्ति ठप्प भएको छ ।

अकल्यान्डमा गर्मीको मौसममा हुने कूल वर्षाको ७५ प्रतिशत मात्र १५ घण्टामा परेकोले सहरले बाढीको सामना गर्नुपरेको बताइएको छ । अकल्याण्डमा विगत २४ घण्टामा परेको वर्षाको प्रभाव जनताले लामो समयसम्म महसुस गर्ने मौसम पूर्वानुमान निकायले जनाएको छ ।

अकल्याण्डका मेयर वेन ब्राउनले सहरको उत्तरी तटमा रहेको भाराव उपत्यकामा एक व्यक्तिको शव फेला परेको पुष्टि गरेका छन्। उनले यो खबरले आफू दुःखी भएको बताए । हावाहुरीले सहरका पूर्वाधार र आपतकालीन सेवा पूर्णरुपमा ध्वस्त भएको पनि मेयरले बताएका छन् ।

यसैबीच, मेयरले संकटकाल घोषणा गर्न ढिलाइ भएको भन्दै आलोचनाको जवाफ दिँदै आफूले विज्ञको सल्लाहअनुसार काम गरिरहेको बताए । अर्कोतर्फ, न्यूजिल्याण्डको फायर एण्ड इमर्जेन्सी सर्भिसले मद्दतका लागि करिब १,५०० कल आएको बताएको छ ।

न्यूजिल्याण्ड सेनाले मानिसहरूलाई फसेको स्थान बाहिर निकाल्न मद्दत गरिरहेको छ र शहरमा आपतकालीन आश्रयहरू स्थापना गरिएको छ । अकल्याण्डका निवासी र ग्रीन पार्टीका सांसद रिकार्डो मेनेन्डेज मार्चले आफू बसेको क्षेत्रमा बाढी आएको कारण उनले आफ्नो घर छोड्नुपरेको थियो । उनलाई नजिकै बस्ने साथीले आश्रय दिएको उनले बताए । उनका अनुसार ‘दुर्भाग्यवश’ गरिब, अपाङ्गता भएका र आप्रवासीहरू त्यति भाग्यमानी भएका छैनन् ।

बाढीका कारण शहरका प्रमुख सडकमा सवारी आवागमन ठप्प भएको छ भने राजमार्गमा लामो जाम भएको छ । धेरै ठाउँमा दुर्घटनाको खबर पनि आएको छ । यस बाढीका कारण अकल्यान्डको विमानस्थलबाट विमानको आवतजावत प्रभावित भएको छ । कम्तीमा शनिबार दिउँसोसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । यसैबीच, प्रसिद्ध गायक एल्टन जोनको कन्सर्ट पनि रद्द गरिएको छ ।

 

प्रतिक्रिया