

बागमती प्रदेशमा ३ मन्त्रालय र राज्यमन्त्री कटाैती, अब ११ मन्त्रालय कायम

हेटौंडा – बागमती प्रदेशमा ३ मन्त्रालय कटौती गरि ११ वटा मन्त्रालय कायम गरिने भएको छ । मन्त्रालयको संख्या घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले रहेको १४ वटा मन्त्रालयको संख्या घटाएर ११ वटा बनाइने बताए ।
उनले आफ्नो मन्त्रिपरिषद्मा राज्यमन्त्री नराखिने बताए । मुख्यमन्त्री जम्कट्टेलले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताए । मुख्यमन्त्री जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । कार्यदलले आज अन्तिम दिन प्रतिवेदन बुझाएको हो ।
सुरुमा डोरमणी पौडेल मुख्यमन्त्री रहँदा बागमतीमा ७ वटा मन्त्रालय थिए । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि १ वटा बढाएर ८ वटा मन्त्रालय बनाइएको थियो । तेस्रो मुख्यमन्त्री बनेका राजेन्द्रप्रसाद पाण्डले गठबन्धनमा भागबण्डा मिलाउनकै लागि मन्त्रालयको संख्या ८ बाट बढाएर १४ वटा बनाएका थिए । उनले ४ राज्यमन्त्री थपेर मन्त्रीको संख्या १८ बनाएका थिए ।

