

स्पट फिक्सिङ प्रकरणमा तानिए अर्जुन साउद !

काठमाडौं – ‘स्पट फिक्सिङ’ प्रकरणमा अर्को क्रिकेटर अर्जुन साउद तानिएका छन् । नेपाल ट्वान्टी–२० लिगअन्तर्गतका खेलमा स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा यसअघि दुई क्रिकेटर पक्राउ परिसकेका छन् ।
अहिले स्पट फिक्सिङमा नाम जोडिएका १९ वर्षीय साउद राष्ट्रिय टोलीका सदस्य समेत हुन् । उनले पछिल्लो समय राष्ट्रिय टोलीबाट ओपनिङ गर्दै आएका थिए । सुदूरपश्चिम प्रदेशका उनले नेपालबाट एकदिवसीय र ट्वान्टी–२० क्रिकेट खेलिसकेका छन् ।
‘अर्जुनमाथि सीआईबीले अनुसन्धान थालेको हामीलाई जानकारी छ । तर, उहाँलाई पक्राउ गरे/नगरेको, अभियोग लगाए/नलगाएको जानकारी छैन,’ क्यान उच्च स्रोतका अनुसार प्रहरीले उनको पनि भूमिका शंकास्पद देखिएको बताएको थियो ।
प्रतियोगिता जारी रहेकै बेला क्रिकेटर ज्ञानेन्द्र मल्लले फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायत विभिन्न निकायले अनुसन्धान थालेका थिए । सीआईबीको अनुसन्धानमा खेलाडी र विभिन्न क्लबको व्यवस्थापकीय भूमिकामा रहेका १० जनाको स्पट फिक्सिङमा प्रत्यक्ष संलग्नता देखिएको खुलेको छ ।

