बाँदर आतङ्क नियन्त्रण गर्न सरोकारवालाले चासो नदिएपछि…


पर्वत – बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन् । बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु परेको उनीहरुको भनाइ छ ।

जिल्लाका कृषकले आफ्ना स्थानीय तहहरूलाई बाँदर आतङ्क नियन्त्रणका लागि केही न केही गरिदिन पटकपटक अनुरोध गर्दै आएका छन् । यही गुनासोको सुनुवाइ गर्दै जिल्लाको महाशिला गाउँपालिकाले बाँदर छोपेर अन्यत्रै पठाउने काम पनि गरेको थियो । बाँदर छोप्न विज्ञ टोली ल्याएर छोपिएका बाँदरलाई राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।

जिल्लाका धेरै ठाउँमा बाँदर धपाउन कृषक खेती बाली रुँगेर बसिरहेको अवस्था छ । लगाएको बाली बाँदरले नष्ट पारेपछि धेरै कृषक कृषिबाट विस्थापित हुँदै जाने क्रम बढिरहेको छ । यही समस्या बढ्दै गएपछि जिल्लाको पैयुँ गाउँपालिकाले भने बाँदर नियन्त्रणका लागि बस्ती आसपासका रुख र झाडी काटेर सफा गर्ने अभियान सुरु गरेको छ ।

बाँदरको आतङ्क न्यूनीकरणका साथै बस्ती संरचनाको सुरक्षाका लागि रुख काट्न थालेको बताएको छ । ‘पालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसको नियन्त्रण गर्न रुख काट्न लागिएको हो । बाँदरले बालीनालीका साथै घरमा राखिएको अन्नपातसमेत खाएर हैरान पारेपछि कृषकले बाँदर नियन्त्रणका लागि अनुरोध गर्नुहुन्छ । बाँदरलाई नियन्त्रणमा राख्ने ठ्याक्कै उपाय पनि त छैन’, गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले भने, ‘बस्ती र खेतीयोग्य जमिनबाट ८० मिटर वरपरका रुख काट्न थालिएको छ । बाँदरको आतङ्कले कृषकले उत्पादन गरेका बालीनाली र मान्छेलाई पनि क्षति पुग्ने गरेको छ ।’

बाँदर नियन्त्रण गर्ने उपाय यही नै छ भन्ने नभएकाले कम्तीमा पनि झाडीमा घेरिएका घर वरपरको सरसफाइको लागि रुख काट्ने अभियान थालिएको हो । विगतमा बसाइँसराइ कम भएको तथा जनसङ्ख्या वृद्धिदर बढी हुँदा गाउँमा चहलपहल हुने गरेको भए पनि अहिले तिनै गाउँहरू सुनसान बन्दा जङ्गली जनावरको आतङ्क बढेको छ ।

‘पहिले जनसङ्ख्या धेरै थियो । बसाइँसराइ पनि हुँदैनथ्यो । अहिले जन्मदर घटेको छ । बसाइँसराइ निरन्तर बढेको छ । गाउँघर सुनसान बनेका छन् । गाउँमा रहेका केहीले खेतीपाती गरे पनि बाँदर, दुम्सी, चरा, मृगलगायतले खाइदिन्छन’, मल्लले भने, ‘गाउँ रित्तो भइसक्यो । खेतबारी जङ्गल बनिसके । रुख काटियो भने केही कम हुनसक्छ भनेर यो निर्णय गरेका हौँ । गाउँपालिकाका सातवटै वडामा बस्ती आसपासका रुखहरू हटाउने छौँ ।’

प्रतिक्रिया